सर्लाहीको हरिवनमा साझा सुविधा केन्द्र शिलान्यास

भवन शिलान्यास गर्दै मेयर गणेशप्रसाद प्रसाईं । (तस्बिर : सरिता­/उज्यालो अभियान)

सरिता सापकोटा/हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा साझा सुविधा केन्द्रका लागि भवन निर्माण हुने भएको छ ।

मंगलवार हरिवन नगरपालिका–१० कृष्ण मन्दिर टोलमा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत साझा सुविधा केन्द्र सञ्चालनका लागि भवन निर्माण कार्यको शिलान्यास गरिएको हो । एक संक्षिप्त कार्यक्रमका बिच हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसार्इंले शिलान्यास गरेका छन् । परियोजनका अनुसार गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रममा सहभागी लघु उद्यमिहरुलाई साझा थलो प्रदान गर्न भवन निर्माण गर्न लागिएको हो ।

परियोजनाको ५ लाख र नगरको ५ लाख लागतमा निर्माण हुने भवनमा एउटा ठुलो हल, शिशु स्याहार कक्ष र सौचालय बाथरुम रहने परियोजनाले जनाएको छ । पहिलो चरणमा ट्रष्टको प्रयोग गरिने उक्त भवन असार दोस्रो सातासम्म निर्माण सम्पन्न हुनेछ । उक्त परियोजना मार्फत विभिन्न सिप सिकेका महिलाहरुलाई सिपको प्रयोग गरेर आर्थिक उपार्जन गर्न नगरले समेत सहयोग गर्दै आईरहेको नगरका मेयर प्रसार्इंले बताए । उक्त भवनमा तत्कार साबुन र फाईबर झोला बनाउने काम सुरु हुनेछ ।

परियोजनाले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत नगरका विपन्न महिलाहरुलाई छनौट गरी उनिहरुको माग अनुसार सिप सिकाउने र ब्यवसायिक बनाउने गरेको छ । यस परियोजना मार्फत नगरका बहुसंख्यक अति विपन्न महिलाहरुले गुडिया, फाईबर झोला, साबुन बनाउने, सिलाई कटाई, ब्युटिपार्लर, तथा कृषि सम्बन्धी तालिम लिएर आत्मानिर्भर बनिरहेका उद्यम विकास सहजकर्ता ललिता बराईलीको भनाई छ ।

शिलान्यास कार्यक्रमका नगर प्रमुख प्रसाई, वडाध्यक्ष शम्भु प्रसाद मैनाली, स्थानीय परियोजनाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।