सर्लाहीका प्रदेश सांसद् वीरेन्द्र सिंहले खेलकुद मन्त्रीको सपथ लिँदै

प्रदेश सभा सांसद् वीरेन्द्रप्रसाद सिंह ।

हरिवन – प्रदेश दुई सरकारमा सर्लाहीका प्रदेश सभा सांसद् वीरेन्द्रप्रसाद सिंह मन्त्री हुने भएका छन् ।

आज केहीबेर अघि सम्पन्न मुख्यमन्त्री लालबाबु राउत सहितका नेताहरु तथा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहितका कांग्रेस नेताहरुबीच भएको सहमति अनुसार नेपाली कांग्रेसलाई ३ र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ । सहमति अनुसार मुख्यमन्त्री राउतले अहिले साँझ साँढे ७ बजे मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको सपथ आज साँझ साढे ७ बजे हुने भएको छ।

सर्लाही क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित ४२ वर्षीय सिंहले महिला, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । सर्लाहीको धनकौल गाउँपालिका घर भएका सिंहले महिला, युवा तथा खेलकुद मन्त्रीको रुपमा जिम्मेवारी पाएको खबर आएको उज्यालो अभियानलाई बताए । ‘आजै साँझ साँढे ७ बजे सपथका लागि खबर आईसकेको छ’, सिंहले उज्यालो अभियानलाई फोनमा भने । सांसद् सिंह नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहका भाई हुन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य रामसरोज यादवलाई भौतिक मन्त्रालय तथा ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तै माओवादी केन्द्रलाई पनि २ वटा मन्त्रालय दिने सहमति भईसकेको बताईएको छ ।