सर्पदंंश उपचार केन्द्र नवलपुरमा आईसीयू र भेन्टिलेटर सञ्चालन हुदै

सरिता सापकोटा/नवलपुर – सर्पदशं उपचार केन्द्र नवलपुरमा आईसीयू र भेन्टिलेटर सहितको उपचार सेवा सञ्चालनमा आउने भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ नवरपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा दक्ष प्राविधिक चिकित्सक सहित आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउने भएको हो । सर्पदंश उपचार केन्द्रले लामो पहल पछि दुईजना एमबीबीएस डाक्टर नियुक्त गरेर सर्पदंशका विमारीलाई सुविधा सम्पन्न सेवा प्रदान गर्न लागेको छ । केन्द्रले केही बर्ष पहिला उपकरण खरिद गरेको भएपनि दक्ष प्राविधिक डाक्टरको अभावमा सामान्य खालका बिरामी बाहेकलाई उपचार सेवा दिन सकेको थिएन ।

केन्द्रले नियुक्त गरेका डाक्टर आईसीयु र भेन्टिलेटर प्रयोगको ट्रेनिङका लागि धरानमा रहेकाले केही दिन भित्रै आईसीयु र भेन्टिलेटर सहितको सेवा सुचारु हुने केन्द्र सञ्चालक समितिका अध्यक्ष उद्वव पौडेलले जानकारी दिए । दक्ष डाक्टरको अभावका कारण केन्द्रामा रहेको भेन्टिलेटर र आईसीयू लामो समय देखी अलपत्र परेको थियो । भने, सर्पदंशका गम्भीर बिमारीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको थियो ।

केन्द्रको आफ्नै जनशक्ति नभएका कारण अन्य अस्पतालका प्राविधिकको सहयोगमा संचालन गरिएको भेन्टिलेटर मेसिन समेत केही समय पहिला तोडफोड भएको थियो । सोही मेसिन पुनः मर्मत गरेर संचालन गर्ने तयारी गरिएको केन्द्रले जनाएको हो । यस सिजनको लागि आवश्यक औषधी एन्टी स्नेक भेनम प्रयाप्त रहेको र आफुहरु सम्पुर्ण रुपमा तयारी अवस्थामा रहेको अध्यक्ष पौडेलको भनाई छ । अब केही दिनपछि नै आईसियु र भेन्टिलेटर समेत संचालनमा आउने भएकाले बिमारीले अकालमा ज्यान गुमाउनु नपर्ने उन्को भनाई थियो ।

गर्मी मौसम सुरु भए सगैँ जिल्लामा सर्पदंशका बिरामीको संख्यामा समेत बृद्ध हुदै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिले दैनिक ३ देखी ४ जना सम्म सर्पदंशका बिरामी आउने गरेका छन् । केन्द्रमा हाल आठ बेडको क्षमता रहेको अध्यक्ष पौडेलले जानकारी दिए । स्थानीय सरकारको सहयोगमा सञ्चालन भईरहेको केन्द्रलाई आवश्यकता अनुसार सहयोग गरिदिन समेत स्थानीय तहहरु सँग उन्ले आग्रह गरे ।