पत्रकार महासंघ सर्लाहीको भवन निर्माण गर्न प्रदेश सरकारसँग बजेट माग

आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवसँग भेट्दै महासंघ सर्लाहीको टोली । (तस्बिर : उज्यालो अभियान)
अर्थ सचिब काशिराज दाहालसँग भेट्दै पत्रकार महासंघ सर्लाहीको टोली । (तस्बिर : उज्यालो अभियान)

जनकपुर – नेपाल पत्रकार महासंघ सर्लाहीले जिल्ला समन्वय समितिबाट पाएको अधुरो भवन निर्माणका लागि प्रदेश दुई सरकारसँग बजेट माग गरेको छ ।

केही दिनभित्रै आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आउने भएकाले नेपाल पत्रकार महासंघ सर्लाहीको टोलीले प्रदेश सरकार अन्तर्गतका विभिन्न सरोकारवाला निकायसँग बजेटबारे ध्यानाकर्षण सहित लिखित पत्र बुझाएको हो । सोमबार दिउँसो महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं प्रदेश सदस्य शंकर श्रेष्ठ र पूर्व अध्यक्ष एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रोशन न्यौपाने, कोषाध्यक्ष एवं प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष अच्यूतकुमार सापकोटा, अकोराब प्रदेश दुई अध्यक्ष समेत रहेका महासंघ सर्लाहीका सदस्य मनोज यादव लगायतको टोलीले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, अर्थ सचिव काशिराज दाहाल, आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव लगायतलाई भेटेर बजेट माग गरेको हो । भेटका क्रममा महासंघ सर्लाहीको तर्फबाट बजेट मागबारेको लिखित पत्र समेत दिईएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

टोलीले प्रदेश प्रमुख राजेश झासँग समेत भेट गरेको थियो । प्रदेश प्रमुख झाले संचार क्षेत्रको बिकासका लागि आफ्नो तर्फबाट सक्दो पहलकदमी रहने प्रतिबद्धता जनाए भने अर्थ सचिब दाहाल र आम संचार प्राधिकरणका अध्यक्ष यादवले समेत यथाशक्य बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. झाले पनि संचार क्षेत्रको सर्बांगिण विकासका लागि नीतिगत रुपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिससले सदरमुकाम मलंगवामा ठूलो तालिम हल सहितको अधुरो भवन भएको ४ कठ्ठा पौने ४ धुर जमिन गतवर्ष भदौमै नेपाल पत्रकार महासंघ सर्लाहीलाई सम्झौता गरेर ९९ वर्षका लागि दिईसकेको छ । झ्याल, ढोका सहित प्लस्टर र फिनिसिङ सहित वरिपरि माटो हुर्ने काम समेत भएकाले सम्पूर्ण काम सकेर भवन निर्माण कार्य सक्नका लागि १ करोड हाराहारी बजेट लाग्ने अनुमान गरिएको र निकट भविष्यमै प्राविधिकबाट लगत ईष्टमेट समेत गराईने अध्यक्ष क्षेत्रीले बताएका छन् ।

यसैबीच सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) प्रदेश दुई समितिका अध्यक्ष यादवले समेत प्रदेश नीति तथा योजना आयोगलाई ४ बुँदे अवधारणा सहितको लिखित पत्र बुझाएका छन् । आयोगका उपाध्यक्ष झालाई प्रदेश भरीका सामुदायिक रेडियोहरुको हकहितका लागि नीतिगत रुपमै सम्बोधन गर्न आग्रह सहित पत्र बुझाईएको अध्यक्ष यादवले जानकारी दिए । उनले प्रदेश समितिको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन समेत माग गरिएको बताए ।