यहाँहरु सबैमा हार्दिक शुभकामना

पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र घोषणा भएको शुभ दिनलाई स्मरण गर्दै दुई वर्षअघिबाट प्रकाशन सूरु भएको उज्यालो अभियान दैनिक आजबाट तेस्रो वर्ष प्रवेश गरेको छ । खासगरी कोरोना भाईरस संक्रमणका कारण गत वर्ष पनि भव्य र सभ्य कार्यक्रम गरी स्थापना दिवस मनाउन पाएनौं भने आजको दिनपनि कोरोना भाईरस नयाँ भेरियन्टको प्रकोपका कारण जारी निषेधाज्ञाले गर्दा स्थापना दिवस मनाउन पाएनौं । कोरोना कहरकै कारण स्थापना दिवसका दिन तथा आसपासमा गतवर्ष र यसवर्ष दैनिक पत्रिका समेत प्रकाशन गर्न असमर्थ भएका छौं ।

यसबाट आम पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थि समेत छौं । सर्लाहीमा क्रियाशिल हाँमी ९ जना संचारकर्मी मिलेर प्रकाशन सूरु गरेको उज्यालो अभियान दैनिकलाई २०७६ असोज ९ गते उज्यालो अभियान मिडिया नेटवर्क प्रालिको रुपमा कम्पनी स्थापना गरेर अगाडी बढ्दै २०७६ पुस ६ गतेबाट अहिले तपाईले हेरिरहनु भएको www.ujyaaloabhiyan.com नामक न्यूज पोर्टल समेत सञ्चालनमा ल्याएका छौं । आगामी दिनमा संचारमाध्यमको दायरा बढाउँदै एफएम रेडियो, टेलिभिजन समेत सञ्चालनमा ल्याउने लक्ष्य सहित अगाडी बढेका हाँमीलाई आम पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुको उतिकै सहयोग, सद्भाव र उचित मार्गदर्शनको अपेक्षा समेत गरेका छौं । पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुबाट पाउने माया नै हाम्रो लागि प्रमुख सम्पती हो ।

दैनिक पत्रिका, अनलाईन अगाडी डो¥याउन धेरै सुखद तथा दुःखद क्षणहरु सँगसँगै आउन सक्छन् । तथापी हामी ‘सुुखमा नमातिनु र दुःखमा नआतिनु’ भन्ने भनाई जस्तै निर्भिकताका साथ निरन्तर बढिरहने छौं । सर्लाहीमा लामो इतिहाँस नभएपनि गुणस्तरीय र व्यवसायिक पत्रकारिताका लागि हामी प्रयासरत रहने प्रण गर्दछौं ।

व्यवसायिक रुपमा दैनिक पत्रिका र अनलाईन चलाउनु आफैमा एउटा चुनौतीपूर्ण काम हो । तुलनात्मक रुपमा सर्लाही जस्तो आर्थिक संभावनाका स्रोतहरु कमजोर भएको र संचारको महत्वबारे पर्याप्त जागरण नभएको जिल्लामा नियमित रुपले व्यवसायिक ढंगबाट पत्रिका चलाउनुलाई फलामको चिउरा चपाउनु सरह मान्न सकिन्छ । त्यसमा पनि कुनै ‘निहित उद्धेश्य’ परिपूर्ति एवं ‘पूर्वाग्रहीयुक्त’ समाचारहरु प्रकाशित गर्नका लागि मात्र पनि सञ्चारमाध्यम चलाउने र ‘दुई दिनको घामछाँया’ भने जस्तै नयाँ वर्ष, दशैं तिहार जस्ता महत्वपूर्ण चाडबाडहरुमा शुभकामना विज्ञापन छाप्नका लागि मात्र बजारमा आउने प्रचलनले हाम्रो जस्तो नियमित रुपमा व्यवासायिक ढंगले सञ्चालन हुने सञ्चारमाध्यमलाई अझ बढी चुनौती देखिएको छ ।

हामी सर्लाहीलाई नै मुख्य कर्मथलो मानेर समाचार प्रकाशन गर्ने र जिल्लाबासीकै पीडामा मलमपट्टी लगाउन हरदम प्रयासरत रहने छौं । राष्ट्रिय स्तरका समाचार विभिन्न संचारमाध्यमबाट नक्कल गर्ने भन्दा पनि स्थानीय खबरलाई बढी प्राथमिकताका साथ प्रकाशन गर्नेतर्फ हामी बढी केन्द्रीत हुनेछौं । स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने मात्र हैन ‘आवाज विहिनहरुको आवाज’ बन्नका लागि हामी मरिमेट्ने छौं । त्यस्तै सकारात्मक समाचारलाई बढी भन्दा बढी प्राथमिकता दिँदै विकास पत्रकारितामा हाम्रो विशेष ध्यान जानेछ ।

राज्यले पनि संचार जगतलाई समान दृष्टिले हेर्न नसकेको र विज्ञापन वितरण सम्बन्धि औपचारिक नीति नभएकोले नियमित रुपले प्रकाशित हुने पत्रपत्रिका, अनलाईन र प्रशारण हुने संचारमाध्यमहरु बारम्बार संकटग्रस्त भईरहेका छन् । अझ यो कोरोना कहरले त संचार क्षेत्रलाई थप अभावग्रस्त नै बनाएको छ ।

आर्थिक संकटसँगै समाचारको विषयमा दवाब सृजना गर्ने व्यक्ति वा समुह र अपराधीहरुबाट समेत प्रताडित हुनबाट संचारक्षेत्र अछुतो रहेको छैन । पछिल्लो समय जिल्लामा पार्टी पत्रकारिताको रुपमा मुखपत्र जस्तै बनेर केही पत्र पत्रिका, अनलाईन सञ्चालन भएको भन्दै व्यापक जनगुनासो समेत बढिरहेको छ । जुन व्यवसायिक पत्रकारिताको मूल्य र मान्यता तथा आमजनताले खोजे र सोचे जस्तो निश्पक्ष पत्रकारिता विपरित हो भन्ने हाम्रो ठहर छ ।

आम नागरिक र संचार जगतले एक अर्कालाई बुझ्न र फराकिलो सोच विकसित गर्न जरुरी छ । राज्य लोकतान्त्रिक गणतन्त्र र समावेशी हुँदै संघीय संरचनामा गईसकेको वर्तमान अवस्थामा संचार जगतले पनि आफुलाई त्यस अवधारणा बमोजिम स्पष्ट गर्नै पर्छ । नयाँ नेपाल निर्माणको अभियानमा सबैका भावनाको सम्मान र सकारात्मक दिशामा परिस्थितीलाई लैजान संचार माध्यमले आफुलाई बदल्न सक्नुपर्छ । त्यस्तै आन्दोलनरत पक्ष, नागरिक समाज, राजनैतिक दल र विभिन्न समुहहरुले प्रेस स्वतन्त्रताको महत्व, सिमा र मापदण्डहरु बारे स्पष्ट हुनु जरुरी छ । प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना पनि गर्न सकिदैन भन्ने तथ्य प्रति सबैले ह्दयंगम गर्दा अझ बढी यस क्षेत्रको उन्नती प्रगति हुने कुरामा दुईमत छैन ।

खासगरी स्वतन्त्र र निर्भिक पत्रकारितासँगै त्यसको आचारसंहिता पालनामा पनि संचारजगत गम्भिर हुनुपर्छ । संघीय गणतन्त्रात्मक शासन, लोकतान्त्रिक पद्धती र परिवर्तनप्रति संचारजगतको प्रतिबद्धता नै जनविश्वासको मुख्य आधार हो । त्यसक्रममा आम पाठक एवं शुभेच्छुकबाट पाउने प्रतिक्रिया, सरसल्लाह र सुझावले सञ्चार माध्यमलाई महत्वपूर्ण प्रेरणा प्राप्त हुन्छ । हामी निरन्तर पाठक, शुभेच्छुक एवं विज्ञापनदाताहरुको सेवामा प्रतिवद्ध रहने पूनः प्रण गर्दछौं ।

अन्तमा, कोरोना भाईरसको संक्रमणबाट आफू पनि बचौं र अरुलाई पनि बचाउन सक्दो प्रयत्न गरौं भन्दै यस उज्यालो अभियान दैनिकको स्थापना दिवस एवं १४ औं गणतन्त्र दिवसको अवसरमा आम पाठक, विज्ञापनदाता, शुभेच्छुक सहित आम नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

टंकबहादुर क्षेत्री
अध्यक्ष तथा
उज्यालो अभियान मिडिया नेटवर्क प्रा.लि. परिवार