हरिवनमा आज पुनः ७३ जना को थ्रोट स्वाब संकलन

केही दिनअघि सासापुर स्वास्थ्य चौकीमा थ्रोट स्वाब संकलन गरिँदै । (फाईल तस्बिर)

हरिवन – हरिवन नगरपालिका कार्यालयले कोरोना भाईरस परीक्षणका लागि आज (सोमबार) पुनः दोस्रो पटक थ्रोट स्वाब संकलन गरेको छ ।

नयाँ ‘भेरियन्ट’ सहितको कोरोना भाईरसको दोस्रो चरण अन्तर्गत लकडाउन सूरु भएयता सोमबार हरिवन नगरपालिकाले दोस्रो पटक स्वाब संकलन गरेको हो । नगरपालिकाले संचालन गरेको सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पठाईएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिंहले जानकारी दिए । सिंहका अनुसार केही दिनअघि ५४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ४१ जनामा कोरोना भाईरस देखिएपछि संक्रमितका परिवारजन, आफन्त एवं ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका र शंकाष्पद गरी ४० जना पुरुष र ३३ जना महिलाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठार्ईएको हो ।

यो पनि पढ्नोस्

मलंगवाको पीसीआर ल्याबमा १८८ जनाको थ्रोट स्वाब परीक्षण गर्दा १३३ जनामा संक्रमण

सर्लाहीको हरिवनमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

अब फेरि आज (सोमबार) संकलन भएको स्वाबको रिपोर्ट आएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा आगामी बैशाख ५ गते बुधबार र ७ गते शुक्रबार पनि शंकाष्पद व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिने सिंहले जानकारी दिए । अन्य नगरपालिकाको तुलनामा हरिवन नगरपालिकाले थ्रोट स्वाब संकलनमा बढी चासो देखाएको छ । खर्च बढी हुने भन्दै अन्य पालिकाले भने एकपटक संकलन गरेको स्वाबको रिपोर्ट आएको १४ दिनपछि मात्र अर्को लट स्वाब संकलन गर्ने वा भरसक नगर्ने प्रचलन देखिएको छ ।