सर्लाही प्रहरीले समात्यो राजमार्गमा सवारी लुटपाट गर्ने गिरोहका दुई जना

लुटपाटमा संलग्न आरोपमा पक्राउ परेका दुईजना । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय)

मलंगवा – सर्लाहीको बाँके जंगलमा सवारी साधन लुटपाट गरेर फरार गिरोहका दुई जना पक्राउ परेका छन् ।

यही बैशाख २६ गते राती सबा १ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका–४, बाँके जंगलमा तीनवटा सवारीमा लुटपाट भएको थियो । सो घटनामा संलग्न भई फरार रहेका ईश्वरपुर नगरपालिका–५, नरेशखोरका ३३ वर्षीय रामकरण महतो र सोही ठाउँका २० वर्षीय सुरेन्द्र सदा पक्राउ परेका हुन् । हातहतियारसहित चार जनाको संख्यामा रहेको नकाबधारी डाकाहरुको समूहले प्रहरीले लगाउने जस्तो ज्याकेट लगाएर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. ४ च ८३८७ नम्वरको पिकअप गाडी, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ६ ख १३६ र ना. ६ ख ८२० नम्वरको ट्रक रोकी विभिन्न कम्पनीको तीनवटा सवारीका चालक र सहचालकको साथमा रहेको ३७ हजार नगद, पाँच थान मोवाइल, एक थान सुनको हनुमानी र गाडीभित्र रहेका विभिन्न समानहरु लुटपाट गरेका थिए ।

लुटपाटपश्चात डाँका समूहको खोजी तीव्र पारेको प्रहरीले सुरुमा ३३ वर्षीय रामकरण महतोलाई ईश्वरपुर नगरपालिका–५, स्थित फूलजोर मन्दिर नजिकबाट बीआर ३० यू ७७७३ नम्वरको भारतीय मोटरसाइकलमा हिँडिरहेको अवस्थामा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गरेको थियो । तत्कालै महतोको घरमा समेत खानतलासी गर्दा प्रहरीले लुटपाट भएको एक थान मोवाइल, हनुमानी र प्रहरीले लगाउने ज्याकेट बरामद् गर्न सफल भयो ।

महतोकै बयानका आधारमा घटनामा संलग्न आरोपमा अर्का अभियुक्त सदालाई ईलाका प्रहरी कार्यालय केशरगंजको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय केशरगंजको टोलीले पक्राउ गरेको हो । महतो र सदाविरुद्ध सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको र फरार रहेका दुई अभियुक्तको समेत तिब्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।