एमाले सम्बद्ध खेलकुद महासंघद्वारा पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री (बीच)लाई स्वास्थ्य सामग्री प्रदान गर्दै खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत र उपमहासचिव सन्तमाया परियार साथमा पत्रकार महासंघ कोषाध्यक्ष अच्युतकुमार सापकोटा । (तस्बिर : उज्यालो अभियान)

सञ्जु कर्ण/हरिवन – नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघ केन्द्रीय टोलीले सर्लाहीका पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

आईतबार दिउँसो सर्लाहीका विभिन्न स्थानमा पुगेर महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत नेतृत्वको टोलीले पत्रकार एवं सुरक्षाकर्मीका लागि मास्क, सेनिटाईजर र फेस शिल्ड लगायत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । बितरण कार्यक्रममा महासंघका उप–महा सचिवद्वय रामकृष्ण खड्का र सन्त माया परियार, सचिवालय सदस्य रमेश चौलागाँई, नेकपा एमाले सर्लाहीका नेता गोकुल बस्नेत (टंक) लगाएतको उपस्थिती रहेको थियो ।

काठमााडौंबाट दोलखा, रामेछाप, सिन्धुली लगायत जिल्लामा वितरण गर्दै सर्लाही आईपुगेको टोलीले आईतबार दिउँसो सर्लाहीका पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । उज्यालो अभियान मिडियाको हरिवन स्थित कार्यालयमा स्वास्थ्य सामग्री प्रदान गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतले आफूहरुले कोरोना भाईरस महामारीका बीच पनि अग्रपंक्तिमा खटिने पत्रकार र सुरक्षाकर्मीलाई थोरै भएपनि सहयोग पुगोस् र खटिने मनोवल अझ बढोस् भन्ने उद्धेश्यका साथ सामग्री प्रदान गरिएको जानकारी दिए । वितरणका क्रममा आफूहरु सर्लाहीमा ४७ औं जिल्लाको रुपमा आईपुगेको समेत उनले बताए ।

टोलीले आईतबार नै सर्लाही स्थित ईलाका प्रहरी कार्यालय लालबन्दी र बरहथवामा समेत पुगेर स्वास्थ्य सामग्री प्रदान गरेको छ । सोमबार उदयपुर हुँदै पूर्वका जिल्लातर्फ वितरण गरिने कार्यक्रम रहेको बस्नेतले बताए ।

स्वास्थ्य सामग्री प्रदान गरेकामा पत्रकार महासंघ सर्लाहीका अध्यक्ष क्षेत्री एवं कोषाध्यक्ष अच्युतकुमार सापकोटाले खेलकुद महासंघको टोलीप्रति आभार प्रकट गरे ।

शनिबार सदरमुकाम मलंगवा स्थित स्तुती सौम्या हेल्थ केयरका संचालक डा। गुणेश्वर झाले उपलब्ध गराएको ५०० थान मास्क र सेनिटाईजर भने महासंघका सचिव सुनिल ठाकुरले मलंगवा तथा आसपासका संचारगृह र पत्रकारलाई आईतबार बिहानै वितरण गरेका छन् । व्यक्तिगत काम विशेषले तीन साता बाहिर बसेर दुई दिनअघि जिल्ला फर्कने वितिकै आफूले आग्रह गरेअनुसार विभिन्न संघ संस्थाबाट धमाधम स्वास्थ्य सुरक्षा सामग्री प्राप्त हुन थालेको भन्दै सामग्री उपलब्ध गराउने संघ संस्था एवं मनकारी महानुभावहरुलाई महासंघ अध्यक्ष क्षेत्रीले आभार प्रकट गर्दै आगामी दिनमा पनि साथ, सहयोग र सहकार्यको अपेक्षा गरेका छन् । प्राप्त थप सामग्री सोमबारबाटै जिल्ला स्थित सकृय पत्रकारहरुलाई वितरण सूरु गरिने पत्रकार महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीले जानकारी दिएका छन् ।