सर्लाहीको बलरामा उच्च ज्वरो आएर दुई दिनमा ४ जनाको मृत्यु, सयौँ बिरामी

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बीर ः उज्यालो अभियान)

बलरा – भारतसँग सीमा जोडिएको सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बलरा नगरपालिका वडा नं. ६, मिर्जापुर गाउँमा उच्च ज्वरो आएका ४ जनाको ज्यान गएको छ ।

दुई जना ८०/८५ वर्षका वृद्धसहित ४ जनाको ज्यान गएको बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले उज्यालो अभियानसँग बताए । उनका अनुसार आइतवार एकैदिनमा तीन जनाको गाउँमै र एक जनाको वीरगन्जमा ज्यान गएको हो ।

वडा नं. ६ मिर्जापुर र वडा नं. ३, लक्ष्मीपुर गाउँका सयौँ व्यक्तिहरुमा ज्वरो आएको मेयर सिंहले बताए । तर स्वास्थ्यकर्मीहरुलाई गाउँमा खटाएर चेकजाँच गर्न खोज्दा गाउँलेहरु डराएर आफूलाई ज्वरो नआएको भन्दै पन्छिने गरेका मेयर सिंहले बताए ।

कोरोना चेकजाँच गर्ने र त्यसपछि आइसोलेसनमा पठाउने डरले ज्वरो नै नआएको भन्दै ढाँट्न थालिएको मेयर सिंहको भनाई छ । अहिले अवस्था भयावह बन्दै गएपनि सीमामै रहेको बलराका वासिन्दा किनमेल तथा औषधोपचारका लागि नजिकैको भारतीय बजार गइरहेका छन् ।

बलराबाट सदरमुकाम मलंगवा नगरपालिका ३३ किलोमिटर, बरहथवा २६ किलोमिटर र रौतहट सदरमुकाम गौर १३ किलोमिटर दूरीमा पर्छ ।

यसैबीच, उच्च ज्वरोसहित कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी धेरै भेटिएपछि यसबारेमा बुझ्न सोमवार दिउँसो जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली बलरातर्फ पठाएको छ । टोलीले बिरामीहरुको अवस्था बुझ्ने र आवश्यक परे पीसीआर परीक्षणका लागि स्वाब समेत लिने काम गर्ने स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले बताए ।