एम्बुलेन्स चालकहरुलाई हरिवन नगरपालिकाको सम्मान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले सोमवार नगरभित्र सञ्चालित एम्बुलेन्सका चालकहरुलाई सम्मान गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर बढ्दै जाँदा जोखिम मोलेरै भएपनि २४ सैं घण्टा बिरामी ओसारपसारमा खटिने एम्बुलेन्सका चालकहरुलाई नगरपालिका कार्यालयले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सोही अवसरमा नगरप्रमुख गणेश प्रसाद प्रसाईले अहिले जोखिमको अवस्थामा कसरी सहज रुपमा एम्बुलेन्स सेवा प्रदान गर्न सकिन्छ, सेवा प्रवाहका क्रममा एम्बुलेन्स चालकहरुले भोग्नु परेका समस्याहरु र आगामी दिनमा आइपर्न सक्ने कठिनाईका बारेमा एम्बुलेन्स चालकहरुसँग छलफल समेत गरेका छन् ।

छलफलमा एम्बुलेन्स चालकहरुले नगरपालिकाले भने अनुसार नै सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । नगर प्रमुख प्रसाईले सङ्कटको समयमा नगरपालिकालाई सहयोग गर्ने एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षाको जिम्मा नगरपालिकाले लिने बताए

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु अत्यधिक बढेपछि हरिवन नगरपालिकाले भोली (मंगलवार) देखि २५ गतेसम्म नगरभरी निषेधाज्ञा लगाउँदै छ । सो अवधीमा अत्यावश्यक सेवाबाहेक सरकारी कार्यालय, हाटबजार सबै बन्द गरिने नगरपालिकाले कार्यालयले जनाएको छ ।