सर्लाहीको शंकरपुरमा दाना उद्योगको शिलान्यास

घनश्याम बलम्पाकी, उज्यालो अभियान/शंकरपुर – सर्लाहीको शंकरपुरमा शनिवार दाना उधोगको शिलान्यास गरिएको छ ।

बागमती नगरपालिका–८ शंकरपुरमा नगर प्रमुख भरतकुमार थापाले एक कार्यक्रमका बीच दाना उधोगको शिलान्यास गरेका हुन् । स्थानीय किसानहरुको व्यवसायिक पशु पालनमा लागत कम गर्न उधोग सञ्चालन गर्न लागिएको मेयर थापाले बताए ।

उधोग स्थापनाको पहिलो चरणमा संघिय सरकारबाट बागमती नगरपालिका मार्फत पचाँस लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरपुरबाट पचास लाख गरी जम्मा एक करोडको लागत साझेदारीमा आगामी असार पन्ध्र गते भित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण हुने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिए ।

दाना उधोग निर्माणका लागि कुल लागत ५ करोड ९३ लाख ९७ हजार एकसय दस रुपैयाँ लाग्ने अनुमान गरीएको प्रबन्धक काफ्लेले बताए । जसका लागि संघिय सरकारबाट ५० प्रतिशत अनुदान,बागमती नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आव्हान गरी उधोग निर्माण गरिने प्रबन्धक काफ्लेले बताए ।

निर्माण हुन लागेको उक्त उधोगमा प्रतिघण्टा ५ टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ । कृषि जोनको रुपमा रहेको बागमती नगर क्षेत्रमा मकैँ, गँहुलगायतका अन्नबाली अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ ।

उत्पादन भएको अन्न बाली किसानले ब्यापारीले निर्धारण गरेको थोरै मुल्यमा खेतैबाट बेच्नु पर्ने बाध्यता खेप्दै आएका थिए । उधोग सञ्चालन पछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मुल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरिदमा मुल्य कम हुने अपेक्षा गरेका छन् ।

उधोग शिलान्यास कार्यक्रममा नगरप्रमुख थापा, नम्बर ८ का वडाध्यक्ष मानबहादुर तामाङ, सुर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जवाहरलाल कुशवाहालगायत स्थानीय किसानहरुको उपस्थिति थियो ।