लोकतन्त्रका सम्वाहक कोइरालालाई एमाले सर्लाहीको सम्मान

जुटपानी – नेकपा एमाले सर्लाहीले १५ औँ लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्रका सम्वाहक एवं लोकतन्त्रका पर्यायवाची भन्दै काँग्रेसका पुराना नेता बासुदेवशरण कोइरालालाई शनिवार सम्मान गरेको छ ।

पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका संरक्षक समेत रहेका काँग्रेस सर्लाहीका पूर्व पार्टी सभापति कोइरालालाई एमाले सर्लाही जिल्ला कमिटीले दोसल्ला ओढाएर सम्मान गरेको हो । एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले असल राजनीतिक संस्कार प्रदर्शन गर्ने अभियान अन्तर्गत लोकतन्त्रका सम्वाहक कोइरालालाई पार्टीको तर्फबाट सम्मान गरिएको बताए ।

कोइराला वि.पी. कोइरालाका सहपाठी समेत हुन् । दल अलग भएपनि लोकतन्त्रका सम्वाहक मानेर कोइराला र उनकी धर्मपत्नी मन्जु कोइरालालाई समेत सम्मान गरिएको एमाले जिल्ला अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा आश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धालाई समेत फलफूल तथा जुस वितरण गरिएको छ । जिल्ला अध्यक्ष पन्तकै अध्यक्षता तथा लोकतन्त्रका सम्वाहक कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य द्वोय डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली, नेताहरु सुरेन्द्र लामा, चूडामणि वाग्ले, उत्तर कुमार मैनालीलगायतको उपस्थिति रहेको थियो ।