सर्लाहीमा पुनः विद्युत अवरुद्ध, सूचारु हुन समय लाग्ने

लालबन्दी – सर्लाहीमा हिजो बिहानको हावाहुरीपछि विद्युत प्रवाहमा आएको समस्या अझै समाधान भइसकेको छैन् ।

२४ घण्टा भन्दा बढी सयमदेखि विद्युत नियमित नहुँदा जिल्लावासी मारमा परेका छन् । हिजो दिनभर अवरुद्ध विद्युत रातीबाट सूचारु भएको थियो । तर राती ३ बजेबाट पुनः बत्ती अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले बिहान एक्कासी के कारणले समस्या आयो ? भन्ने पत्ता लगाउनै नसकिएको बताए । उनले बिहान ६ बजेबाट भने चन्द्रनिगाहपुर सव स्टेशन मर्मतका लागि त्यहीँबाट बत्ती काटिएको जानकारी दिए ।

चन्द्रनिगाहपुर सव स्टेशनले हिजो नै सूचना निकालेर पावर हाउस मर्मतका लागि आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बत्ती काटिने बताएको थियो । १२ बजेपछि चन्द्रनिगाहपुरबाट बत्ती छाडेपछि आफूहरुले जिल्लाभित्रको खराबी पहिचान गरेर मर्मतको काम गर्ने प्राविधिक श्रेष्ठले बताए ।

मुख्य बजार क्षेत्र र त्यस आसपासमा राती केही घण्टा बत्ती आएपनि कतिपय ग्रामीण बस्तीहरुमा हिजै बिहानैदेखि बत्ती नै नआएको स्थानीय वासिन्दाले बताएका छन् । मुख्य–मुख्य क्षेत्रको बत्ती सूचारु गरेर आजदेखि गाउँतिर हावाहुरीले ढलेका पोल उठाई बत्ती सूचारु गरिने प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले बताए ।

प्राविधिक कर्मचारी र स्रोत साधन सीमित हुने भएकाले बत्ती अवरुद्ध हुनासाथ तत्काल मर्मत संभारको काम गर्न विद्युत प्राधिकरणलाई समस्या हुने गरेको छ । जसले गर्दा जिल्लावासी घण्टौंसम्म बिजुली बत्तीविहिन हुने गरेका छन् । सर्लाहीका लागि रौतहटको चन्द्रनिगाहपुरबाट जंगलै–जंगल हुँदै लाईन ल्याइएको छ ।