राजघाटमा अन्नभण्डार भवन बन्ने

राजघाट – सर्लाहीको राजघाटमा बुधवार अन्नभण्डार भवनको शिलान्यास गरिएको छ ।

बागमती नगरपालिका–५ राजघाटमा नगर प्रमुख भरतकुमार थापाले एक कार्यक्रमकाबीच भवन शिलान्यास गरेका हुन् । स्थानीय किसानहरुले उत्पादन गरेको कृषि उपज भण्डारण गर्ने गरी भवन तयार गर्न लागिएको मेयर थापाले बताए ।

५ करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको क्षमता ५० हजार मेट्रिक टन हुने नगरपालिकाले जनाएको छ । कृषि जोनको रुपमा रहेको बागमती नगर क्षेत्रमा आलु, मकैँ, गँहुलगायतका अन्नबाली अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ ।

तर, उत्पादन भएको अन्न बाली भण्डारण गरेर राख्ने ठाउँ नभएका किसानले ब्यापारीले निर्धारण गरेको थोरै मुल्यमा आफ्नो उत्पादन खेतैबाट बेच्नु पर्ने बाध्यता खेप्दै आएका थिए । स्टोर निर्माण सम्पन्न भएपछि नगरका किसानले आफूले उत्पादन गरेको अन्न सुरक्षित राखेर उचित मुल्य निर्धारण भएपछि बिक्री गर्न सक्ने मेयर थापाको भनाई छ ।

भवन शिलान्यास कार्यक्रममा नगरप्रमुख थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, नेपाली कांग्रेसका बागमती नगर सभापती दिपक कुमार रानाभाट, वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर वाईवा र स्थानीय किसानहरुको उपस्थिति थियो । एक बर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी पृथ्वि ईन्जिनियरिङ्सले ठेक्का सकारेको बागमती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमल प्रसाद पोखरेलले बताए ।

फोटो क्याप्सन : अन्न भण्डारण भवनको शिलान्यास गर्दै मेयर भरतकुमार थापा । (तस्बीर : उज्यालो अभियान)