सर्लाहीको जुटपानीमा ट्रकको ठक्करबाट दुईजना गम्भिर, घाईतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

दुर्घटनामा गम्भिर घाईतेद्वयलाई लिन हरिवनको सुर्तिविकास चौरमा ओलिएको हेलिकप्टर । (तस्बिर : उज्यालो अभियान)

जुटपानी – सर्लाहीको जुटपानीमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकलमा सबार दुईजना गम्भिर घाईते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ आईरहेको ना. ६ ख १३४९ नम्बरको ट्रकले घुर्कौलीबाट नहरको बाटो हुँदै नवलपुर–मलंगवा सडकखण्डमा निस्कँदै गरेको ना. ३० प ३४६६ नम्बरको मोटरसाईकललाई बिहान साँढे ७ बजे लालबन्दी नगरपालिका–२, जुटपानीमा ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाईकलमा सबार हरिवन नगरपालिका–१० निवासी २० वर्षीय सुक बहादुर रोकाया र ३८ वर्षीय वीरबहादुर स्याङ्बो गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । दुवैजना गम्भिर घाईते भएकाले मोटरसाईकल चालक को थियो भन्ने एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईते दुवैजनालाई नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हरिवनको सुर्तिविकास चौरमा ओर्लिएको मनाङ एयरको हेलिकप्टरबाट घाईते दुवैजनालाई काठमाडौं लगिएको हो ।

घाईते दुवैको बीएण्डबी अस्पतालमा उपचार सुरु भएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।

ठक्कर दिने ट्रक नियन्त्रणमा लिईएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।