माओवादी छिरेका वामपन्थी नेता ढुंगाना पुनः एमालेमै फर्किए

माओवादी केन्द्रबाट पुनः एमालेमै फर्किएका नेता ढुंगाना ।

बागमती – सर्लाहीको बागमती नगरपालिका निवासी नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केशवप्रसाद ढुंगाना पुनः नेकपा एमालेमै फर्किएका छन् ।

नेकपामा प्रदेश कमिटी सदस्य रहेका ढुंगाना सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग गराएपछि एमालेको खनाल–नेपाल समूहमा प्रवेश गरेका हुन् । एमालेका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले आफ्ना राजनीतिक गुरु ढुंगाना आफ्नो पुरानै मूल घरमा फर्किएको बताए ।

‘म उहाँले नै उत्पादन गरेको कार्यकर्ता हुँ,’ उज्यालो अभियानसँग कुरा गर्दै अध्यक्ष पन्तले भने, ‘विविध कारण उहाँ अर्कै कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको थियो । बीचमा एमाले र माओवादी केन्द्र एकता भई नेकपा बनेपछि फेरि सँगै भएका थियौं । तर अहिले अदालतले फेरि दुई पार्टी छुट्याइदिएपछि उहाँ हामी (एमाले) सँगै आउनुभएको छ ।’

अध्यक्ष पन्तका अनुसार सर्लाहीको बागमती नगरपालिका कर्मैया निवासी ढुंगाना नेकपा माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य थिए भने यसअघि नेकपामा प्रदेश कमिटी सदस्य थिए । ‘अब हामी उहाँलाई एमालेको केन्द्रीय सदस्य बनाउने पहल गर्छाैं,’ एमाले जिल्ला अध्यक्ष पन्तले भने । एमालेमै फर्किएपछि नेता ढुंगानाले सामाजिक संजालमा भनेका छन्, ‘म आजबाट आफैंले बनाएको घरमा फर्किएँ । आजसम्म मलाई आश्रय दिई ससम्मान व्यवहार प्रदर्शन गर्नुहुने सबै कमरेडहरूप्रति आभार प्रकट गर्दछु । धन्यवाद ।’ ढुंगाना स्वच्छ एवं शालिन वामपन्थी नेताका रुपमा परिचित छन् ।

नेकपा एमालेका सर्लाही जिल्ला सदस्य चूडामणि वाग्लेले नेता ढुंगानाको निर्णयले आफूहरूजस्ता धेरै कार्यकर्तामा उत्साह छाएको बताए । उनले भने, ‘उहाँको अभिभावकत्व पाउँदा गर्व लागेको छ ।’