हरिवनमा शिक्षक संगठनको आन्दोलन तत्कालका लागि स्थगित

नगरप्रमुखसँग सहमति आदानप्रदान गर्दै शिक्षक संगठनका नेताहरु । (तस्बीर : उज्यालो अभियान)

सुखेपोखरी – सर्लाहीको हरिवनमा नेपाल राष्ट्रिय शिक्षक संगठनले तत्कालका लागि आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

हरिवनस्थित चतुर्भूजेश्वर जनता मावि सुखेपोखरीका प्रधानाध्याक तिर्थराज पौडेल, अरु शिक्षक र कर्मचारीलाई गत चैत ९ गते विद्यालयमा केही व्यक्तिहरुबाट भ्रष्टाचारको आरोप लगाउँदै गाली बेइज्जती भएपछि शिक्षक संगठनले आन्दोलन सुरु गरेको थियो । मंगलवार नगरप्रमुख गणेश प्रसाद प्रसाईसँगको छलफलमा चैत ९ को घटना र भ्रष्टाचारको विषयमा बुझ्न गठन गरिएको छानविन समितिले बैशाख २० गतेभित्र प्रतिवेदन दिने र त्यसबेलासम्मका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका हरिवन नगर अध्यक्ष राजनकुमार खड्काले बताए ।

सहमतिमा छानबिन समितिबाट प्राप्त प्रतिवेदनको आधारमा आरोप प्रमाणित नभएमा विद्यालयमा कार्यरत आरोपित पक्षविरुद्ध लगाइएका आरोप र उजुरीहरुलाई नगरपालिकाले ग्रहण नगर्ने, विद्यालय आउन रोक लगाइएका प्रधानाध्यापक र लेखापाललाई विद्यालय प्रवेशसहित हाजिर गर्ने वातावरण तयार गर्ने र निजहरुको पेशाको सुरक्षाको जिम्मेवारी हरिवन नगरपालिकाले लिने उल्लेख छ ।

यस्तै, विद्यालय समायोजन तथा एकीकरणमा परेका शिक्षकहरुलाई उचित तरिकाले सम्वोधन गरी सरुवा गर्ने, औचित्य र आवश्यकताको आधारमा यही बैशाख मसान्तभित्र नगरभित्रको शिक्षकहरुको दरबन्दी मिलान गरिसक्ने सहमति भएको छ ।