आयोजक बागमतीलाई स्तब्ध पार्दै राजर्षि जनक कप फुटबलको उपाधी हेटौंडाले चुम्यो

प्रथम उपाधी सहित पिप्ले युवा क्लब हेटौंडाका खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)
प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी घोषित बागमतीका कप्तान विजय घलान । (तस्बिर : उज्यालो अभियान)

बागमती – आयोजक बागमती नगरपालिकालाई स्तब्ध पार्दै पाँचौं राजर्षि जनक फुटबल प्रतियोगिताको उपाधि पिप्ले युवा क्लब हेडौंडाले चुमेको छ । सोमबार साँझ सम्पन्न फाइनल खेलमा आयोजक बागमती नगरपालिकालाई सडन डेथमा ५–४ गोलले पराजित गर्दै राजर्षि संस्करणको प्रतियोगितामै पहिलो पटक सहभागिता जनाएको पिप्ले युवा क्लबले उपाधि चुम्न सफल भएको हो ।

जितसँगै पिप्लेले १० लाख नगद सहित प्रथम टूफी उचालेको छ भने उपबिजेता बागमती नगरपालिका टिमले ५ लाख रुपैयाँमै चित्त बुझाउनु परेको छ । ५ पटकसम्म प्रतियोगिता आयोजना गर्दा बागमती यो वर्ष पहिलो पटक फाइनलमा पुगेको थियो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबे्रकरमा गएको हो । ट्राइब्रेकरमा बिजेता पिप्लेका लागि क्याप्टेन साहिद, राजेन्द्र रावल, समिर राज थोकर, इब्राहिम र जोन ग्लोरीले गोल गरे । विकास लामा र नवीन गुरुङले प्रहार गरेको बल बागमतीका गोलरक्षक अरुण ब्लोनले रोक्न सफल भए भने सुशील यादवले प्रहार गरेको बल बाहिरिन पुग्यो ।

उपबिजेता बागमती नगरपालिकाका लागि क्याप्टेन बिजय घलान, रितिक खड्का, करण रावत र स्टेफेन समिरले गोल गरे । पासाङ लामा र विमल घिसिङको बल पिप्लेका गोलरक्षक अनिस दौलाले रोक्न सफल भए भने शिव लिम्बु र जाजाले प्रहार गरेको बल बाहिरिन पुग्यो । ट्राईबेकर अन्तर्गत दुवै टिमको तर्फबाट पाँच–पाँच जनाले सुटआउट गर्ने क्रममा ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।

त्यसअघि निर्धारित समयमा पिप्लेका लागि ४ औं मिनेटमा समिरराज ठोकर, २६ औँ मिनेटमा ग्लोरी र इन्जुरी समयमा अनगोल हुन पुग्यो । त्यस्तै, बागमतीको तर्फबाट खेलको १० औँ र १५ औँ मिनेटमा स्टेफेन तथा ८९ औँ मिनेटमा रितिक खड्काले गोल गरेका थिए ।

फाइनल खेलमा पिप्ले युवा क्लबका जोन ग्लोरीले म्यान अफ द म्याच बन्दै नगद १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा बागमती राईजिङ अफ दि ईयर घोषित हुँदै सर्लाही निवासी बागमती नगरपालिका टिमका गोलकिपर अरुण ब्लोनले १५० सिसीको मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बागमती युवा क्लबकै कप्तान बिजय घलानले ५१ हजार प्राप्त गरे ।

त्यसैगरी प्रतियोगितामा बागमती नगरपालिकाका अरुण ब्लोन उत्कृष्ट गोलकिपर, पिप्ले युवा क्लबका क्याप्टेन साहिद उत्कृष्ट डिफेण्डर, पिप्ले युवा क्लबकै राजेन्द्र रावत उत्कृष्ट मिडफिल्डर, बागमतीका स्टेफेन समिर सर्वाधिक गोलकर्ता, पिप्लेका प्रशिक्षक सुविन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनिहरुलाई जनही २० हजार नगद प्रदान गरिएको छ ।

साँझ अबेर सकिएको प्रतियोगिताका बिजेता र उपबिजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा लगायत, उपमेयर लिलाकुमारी मोक्तान लगायतले पुरस्कार वितरण गगरेका थिए । प्रतियोगितामा आयोजक बागमती नगरपालिका टिम विभागिय क्लब एपीएफ र पिप्ले युवा क्लब हेटौंडा विदेशी टिम अफ्रिकन रुट्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रदेश २ कै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगितामा एक विभागिय, दुई बिदेशी, ५ मोफसल र दुई आयोजक टिमकोे सहभागिता रहेको बागमती युवा क्लबका अध्यक्ष किष्मतराज मैनालीले जानकारी दिए । प्रतियोगिता बागमती नगरपालिका–११ स्थित स्व।सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा सम्पन्न भएको हो ।

फाइनल खेल हेर्न उपस्थितिका लागि निमन्त्रणा गर्दै बागमती नगरपालिकाले सोमबार एक दिनका लागि नगरपालिकाभरी सार्वजनिक बिदा नै दिएको थियो । बागमती नगरपालिका आफैले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक फाइनलसम्म पुग्दा सोमबारको खेल हेर्न मैदानभरी नै हजारौँ दर्शक सहभागी भएका थिए ।