बागमतीबाट सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच सुरु

6
जग्गा नापचाँज कार्यको सुरुवात गरिँदै । (तस्बीर : उज्यालो अभियान)

बागमती – भूमी सम्वन्धी समस्या समाधान आयोगले सर्लाहीमा बागमती नगरपालिकाबाट भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँचको काम सुरु गरेको छ ।

बागमती नगरपालिका वडा नं. १२ मा सुक्रवार आधूनिक प्रविधिको प्रयोग गरेर नापजाँचको काम सुरु गरिएको भूमी आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादवले उज्यालो अभियानलाई जानकारी दिए । आयोगका जिल्ला अध्यक्ष यादव, बागमती नगरपालिकाका मेयर भरत थापा, वडाध्यक्ष ओम श्रेष्ठलगायतको उपस्थितिमा सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको जग्गा नाप्न थालिएको हो ।

भूमी आयोगले जिल्लाभर नै क्रमैसँग यसरी नापचाँजको काम गर्ने बताइएको छ । नापचाँज सकेपछि नक्सा कायम गरेर ऐलानी तथा पर्ती जग्गामा बसोवास गर्नेहरुलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) प्रदान गरिने आयोगका जिल्ला अध्यक्ष यादवले बताए ।

यादवका अनुसार जग्गा भएकालाई भएकै जग्गाको लालपूर्जा बनाएर दिने र एकधुर पनि जग्गा नरहेका परिवारलाई सरकारले स्थानीय पालिकाले तोकेको स्थानमा एक कठ्ठा घडेरी र पाँच कठ्ठा खेतबारी प्रदान गर्ने तयारी गरेको छ ।

आयोगले भूमिहिन सुकुम्वासी र अव्यवस्थित जग्गाको लगत संकलनसँगै अन्य कामका लागि एक दर्जन बढी पालिकासँग सम्झौता गरिसकेको छ । अब क्षेत्र नं. ४ का केही पालिकासँग सम्झौता गर्न बाँकी रहेको र आगामी आइतवार ती पालिकाहरुसँग पनि सम्झौता गरिने जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

सरकारले ऐलानी जग्गाको लालपूर्जा र जग्गा नभएकालाई जग्गा दिने भएपछि लाभान्वित परिवार खुसी भएका छन् ।