डाचाराज वाग्ले मृत्यु प्रकरण : सीआइबीको टोली अनुसन्धान गरेर फर्कियो

25
स्वर्गिय डाचाराज वाग्ले ।

बरहथवा – नेकपा माओवादी केन्द्रका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मृत्युबारे अनुसन्धान गर्न आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली एक सातासम्म घटनाबारे अनुसन्धान गरेर फर्किएको छ ।

वाग्ले गत माघ २१ गते राती बरहथवा नगरपालिका–९, मूर्तिया जङ्गलमा मृत फेला परेका थिए । उनी सो दिन साँझ तत्कालिन नेकपाको (प्रचण्ड–माधव) समूहले बरहथवा बजारमा आयोजना गरेको मसाल जुलुसमा सहभागी भएर मोटरसाइकलमा फर्कदै थिए ।

घटना हुनासाथ प्रहरी टोली, पार्टीका नेताहरुलगायत घटनास्थलमा पुगेर हेर्दा वाग्ले सवार मोटरसाइकललाई कुनै सवारीले ठक्कर दिएको जस्तो देखिएको थियो । तर आजसम्म पनि वाग्लेको मृत्युको कारण खुल्न सकेको छैन् ।

घटना रहस्यमय बन्दै गएपछि सीआइबीकै टोली आएर अनुसन्धान गरेको हो । बिहिवार बेलुका जिल्लाबाट काठमाण्डौं फर्किएको उक्त टोलीले वाग्लेको सवारी दुर्घटनामा नै परेर मृत्यु भएको निष्कर्ष निकालेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

प्रहरी उपरीक्षक राठौरले कसरी दुर्घटना हुन पुग्यो ? भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिनै रहेको बताए । वाग्लेको स्मृतिमा फागुन ६ गते उहाँकै गाउँ हरिपुर नगरपालिका–१, हजारविगाहमा आयोजित श्रद्धान्जली सभालाई सम्वोधन गर्दै नेकपाको तत्कालिन प्रचण्ड–माधव समूहका नेता एवं हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका निलम्वित वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले घटना रहस्यमय रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए ।