सर्लाहीमा पनि सरकारी स्वास्थ्य बीमा कार्यक्रम लागू

3
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सरकारको नीतिअनुसार सर्लाहीमा पनि वुधवारबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ ।

“स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा” भन्ने मूल नाराका साथ वुधवार परेको पाँचौ स्वास्थ्य बीमा दिवसका अवसरमा सर्लाहीसहित छ जिल्लामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भर्खुअल माध्यमबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेका हुन् ।

मन्त्री त्रिपाठीको भर्चुअल सम्वोधनसँगै नयाँरोडस्थित एक होटलमा औपचारिक कार्यक्रम गरी स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम सर्लाहीका संयोजक चेतन घिमिरेले जानकारी दिए । उनका अनुसार जतिसक्दो चाँडो यहाँका वासिन्दाहरुको बीमा गर्नका लागि वुधवारदेखि स्वास्थ्य बीमा दर्ता सहयोगीहरुका लागि तालिम समेत सुरु गरिएको छ ।

तालिम लिएपछि प्रत्येक वडाहरुमा स्वास्थ्य बीमा सदस्यता दर्ताका लागि सहयोगीहरु खटाइने छ । स्वास्थ्य बीमा बोर्डकी कार्यकारी सदस्य इन्द्रकला राईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाई, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव राय, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलगायतले मन्तव्य राखे ।

सर्लाहीसँगै बारा, दोलखा, ताप्लेजुङ, मनाङ र मुस्ताङमा एकैसाथ यो कार्यक्रमको शुभारम्भ भएको हो । नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो ।

वुधवारबाट थप ६ जिल्लामा विस्तार भएसँगै स्वास्थ्य बीमा कार्यक्रम ७५ वटा जिल्लामा लागु भएको छ । यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन् ।

५ जना सम्मको परिवार भएको विमितले प्रति बर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउँछन् । वुधवार थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् ।