राजर्षि जनक कप : पिप्ले युवा क्लब फाइनलमा, अफ्रिकन रुट्स २-१ गोलले पराजित

10
बल नियन्त्रणमा लिने प्रयास गर्दै गरेका खेलाडी । (तस्बीर : नवराज/उज्यालो)

नवराज अधिकारी, उज्यालो अभियान/बागमती – सर्लाहीको बागमतीमा जारी ५ औँ राजर्षि जनक कप फुटबलमा पिप्ले युवा क्लब, हेटौंडा फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत सुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पाहुना टोली अफ्रिकन रुट्स एशोसिएनलाई २–१ गोलले स्तब्ध पार्दै पिप्ले युवा क्लब उपाधि नजिक पुगेको हो । पिप्ले युवा क्लबको जितमा राजेन्द्र रावल एक्लैले खेलको ४० औँ र ६५ औँ मिनेटमा गरी दुई गोल गरे ।

अफ्रिकन रुट्सको तर्फबाट खेलको ८२ औँ मिनेटमा सी अम्बाकोपले एक गोल गरे । सुक्रवारको खेलमा पिप्ले युवा क्लबलाई दुई गोल गरेर जिताउने राजेन्द्र रावल म्यान अफ दि म्याच बन्दै १० हजार नगद पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।

प्रतियोगितामा भोली (शनिवार) आयोजक बागमती नगरपालिका, सर्लाही र सशस्त्र प्रहरीको एपिएफ क्लबले दोस्रो सेमिफाइनल खेल खेल्ने छन् । शनिवारको बिजेताले चैत ३० गते प्रतियोगिताको उपाधिका लागि पिप्ले युवा क्लब, हेटौंडासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रदेश २ कै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख प्राप्त गर्ने छन् । यस्तै, सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले १५० सीसीको एक थान मोटरसाइकल र प्रतियोगिता भरकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ ।