अदालतको आदेशपछि भत्काइएको घरका संरचना छरपस्ट

11
अदालतको आदेशपछि भत्काइएका चक्रघट्टा बजारस्थित घरका संरचनाहरु । (तस्बीर : उज्यालो अभियान)

चक्रघट्टा – सर्लाहीको चक्रघट्टामा सडकको जग्गामा बनाइएको भन्दै एक वर्षअघि भत्काइएका घरका संरचनाहरु अझै हटाइएको छैन् ।

सर्लाही जिल्ला अदालतको आदेशपछि चक्रघट्टा गाउँपालिकास्थित बजारमै रहेका आधा दर्जन बढी घरहरु गत वर्ष भत्काइएको थियो । घर भत्काइएको लामो समय भइसक्दा समेत भत्काइएका संरचनाहरु त्यहाँबाट नहटाइँदा बजार क्षेत्र नै कुरुप बनेको स्थानीय वासिन्दाले बताएका छन् ।

व्यक्तिगत रुपमा बनाइएका पक्की घरका संरचनाहरु अहिले अदालतले सडकमा पर्ने जग्गा भनेर फैसला गरेको जग्गामै छरपस्ट अवस्थामा रहेका छन् । घर भत्काइएका व्यक्तिहरु भने अन्यत्र गएर बसोवास गर्छन् ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले अदालतबाट भएको काममा आफूहरुले हात हाल्न नमिल्ने बताए । उनले भत्काइएका संरचना के गर्ने ? र सडकमा पर्ने भनिएको जग्गा कसरी प्रयोगमा ल्याउने ? भन्ने बारेमा अदालतबाट गाउँपालिकालाई अहिलेसम्म कुनै किसिमको पत्राचार तथा जानकारी नगराइएको बताए ।

जिल्लाको दक्षिण–पश्चिमी ग्रामीण भेगमा पर्ने चक्रघट्टा बजारमा केही महिना पहिले गाउँपालिका आफैले बजारमा रहेको लेथ पसल हटाउन खोज्दा ठूलो विवाद भएको थियो । सो घटनालाई लिएर नेपाली काँगे्रस र तत्कालिन नेकपा माओवादी केन्द्रले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरी एक अर्काप्रति आरोपप्रत्यारोप समेत गरेका थिए ।