रेवती पन्तविरुद्ध मैले विज्ञप्ती निकालेको छैन्, उहाँ नै अध्यक्ष हो : नेता बैठा

5
नेता बैठाको निवास संग्रामपुरमा पुगेका एमाले नेताहरु र बैठाका परिवार सदस्य । (तस्बीर : एमाले नेता चूडामणि वाग्लेको फेसबुकबाट)

संग्रामपुर – नेकपा एमाले सर्लाहीका नेता एवं प्रदेश सभा सदस्य रवीन्द्र बैठाले पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तविरुद्ध आफूले कुनै विज्ञप्ती ननिकालेको प्रष्ट पारेका छन् ।

पार्टीभित्र गुटगत र फाटोवादी गतिविधि गरेको आरोप लगाउँदै यही चैत १७ गते एमालेको ओली समूहका ९ जना नेताले झलनाथ खनाल निकट पार्टीका जिल्ला अध्यक्ष पन्त, अब जिल्ला अध्यक्ष नरहेको भन्दै पे्रस विज्ञप्ती निकालेका थिए । जसमा ओली समूहबाट केही समयअघि केन्द्रीय सदस्यमा मनोनित भएका नेता बैठाको पनि सो विज्ञप्तीमा हस्ताक्षर रहेको थियो ।

नेता बैठाले त्यो हस्ताक्षर आफूले यसअघि कतै गरिएको हस्ताक्षर स्क्यान गरेर राखिएको बताएका छन् । उनले पार्टी अध्यक्ष पन्तविरुद्ध अर्नगल प्रचार गरिएको र त्यसमा आफूलाई समेत मुछिएको दावी गरेका छन् ।

पर्सा गाउँपालिकाको संग्रामपुर निवासी एमाले नेता एवं प्रदेश २ का प्रदेश सभा सदस्य बैठाले निर्वाचित जिल्ला अध्यक्षलाई अध्यक्ष होईन् भन्नु हास्यास्पद कुरा भएको समेत बताए । बैठालाई सोमवार बिहान जिल्ला अध्यक्ष पन्त, नेताहरु लक्ष्मण पौडेल, चूडामणि वाग्लेलगायतले उहाँको निवासी संग्रामपुरमै पुगेर भेट गरेका छन् ।

१७ गतेको विज्ञप्तीप्रति एमालेको नेपाल–खनाल समूहले गठन गरेको युवा संघ नेपाल सर्लाहीले भोलीपल्टै आपत्ति जनाएको थियो । पन्त आफैले पनि आफू अध्यक्ष होईन् भनेर विज्ञप्ती निकाल्नु हास्यास्पद र केही व्यक्तिहरुको फट्याई हो भन्ने खालको प्रतिक्रिया दिँदै आएका छन् ।