सूर्योदय सहकारीको अध्यक्षमा पुनः जवाहारलाल कुशवाहा

7
जवाहारलाल कुशवाहा

राजघाट – सर्लाहीको बागमती नगरपालिका–६, मा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जवाहारलाल कुशवाहा चयन भएका छन् ।

संस्थाको सुक्रवार सम्पन्न १४ औँ वार्षिक साधारण सभाले कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । समितिमा दीपकबहादुर रेग्मी उपाध्यक्ष, पुष्पबहादुर खड्का सचिव र इन्द्रप्रसाद दाहाल कोषाध्यक्षमा चुनिएका छन् ।

यस्तै सदस्यहरुमा ठगकुमारी उप्रेती, प्रिती पौडेल, महेश बराल, शारदा ढुंगाना, रामेश्वर मैनाली र वुद्धिबहादुर तुमसिङ चयन भएका संस्थाले जनाएको छ । यसैगरी, सरोज श्रेष्ठ संयोजक रहने गरी तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ ।

शंकरपुर, सोल्टीमा रहेको सुर्योदय सहकारी, राजघाटमा रहेको मितेरी र सप्तरंगी सहकारी तथा बरहथवामा रहेको सूर्योदय सहकारी गरी ४ वटा सहकारी एकीकरण भई एकीकृत कारोवार सुरु भएपछि संस्थाको सुक्रवार पहिलो साधारण सभा गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।

संस्थाले साधारण सभाकै अवसरमा सुक्रवार नै नेपाल रेडक्रस सोसाइटी राजघाटसँग समन्वय गरेर राखेको रक्तदान शिविरमा ७५ जनाले रक्तदान गरेका नवनिर्वाचित अध्यक्ष कुशवाहाले बताए ।