वडाध्यक्षहरुद्वारा नगर सभा बहिष्कार

2
वुधवार बसेको पाँचौं नगर सभामा बोल्दै मेयर मनोजकुमार देवकोटा ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाकाको वुधवार (हिजो) बोलाइएको पाँचौं नगर सभामा वडाध्यक्षहरुले असहमति राखेका छन् ।

नगर प्रमुखले एकलौटी रुपमा बजेट विनियोजन गरेर अघि बढेको भन्दै वडाध्यक्षहरु असन्तुष्ट बन्दै नगर सभा नै बहिष्कार गरी असहमति व्यक्त गरेका हुन् । वडा नं. १२ का वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिनले नगपालिकाको १५ वटा वडामध्ये १४ वडाका वडाध्यक्षले सभामा असहमति जनाएको र एक जना वडाध्यक्ष सभामा नै सहभागि नभएको दावी गरे ।

बजेट विनयोजन गर्ने विषयमा एकलौटी भएकाले त्यसमा नै आफूहरुको प्रमुख असहमति रहेको उनले बताए । यता, नगरप्रमुख मनोज कुमार देवकोटाले भने नगर सभाबाट सर्वसम्मत रुपमा बजेट पास भइसकेको दावी गरेका छन् ।

ईश्वरपुरमा गत वर्ष बजार सरसफाई, अनियमिततालगायतको विषय उठाउँदै वडाध्यक्ष र राजनीतिक दलहरुले आन्दोलन नै गरेका थिए ।