टाउको काटेर युवकको हत्या गर्ने दुई अभियुक्त सार्वजनिक

5
अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा टाउको काटेर एक युवकको हत्या गरिएको घटनामा संलग्न दुई अभियुक्तलाई प्रहरीले वुधवार सार्वजनिक गरेको छ ।

सदरमुकाम मलंगवा नगरपालिका–१०, बस्ने नागेश्वर यादवका छोरा २५ वर्षीय सुशील कुमार यादवको चैत ११ गते राती टाउको नै छिनाएर अत्यन्त विभत्स ढंगले हत्या भएको थियो ।

मृतकको शव चैत १२ गते बिहान मलंगवा नगरपालिका–९, स्थित पचगछिया चौरीमा फेला परेको थियो । मृतकको शरीर भेटिएको स्थानबाट ६० मिटर पर टाउको फेला परेको थियो ।

सो विभत्स हत्याको घटनामा संलग्न रहेका मलंगवा नगरपालिका–१०, का ४५ वर्षीय विमलकान्त पाठक र उनको भान्जा पर्ने भारत बिहार राज्य सीतामढी बथनाहा मझौलिया स्टेट वडा नं. १० बस्ने ४१ वर्षीय अशोक झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले वुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

दुवै अभियुक्तले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकारेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार दुवै अभियुक्तलाई मलंगवाको मालपोत कार्यालय क्षेत्रबाट पक्राउ गरिएको हो ।

सुशीलको हत्या हुनुको मुख्य कारण पारिवारिक विवाद र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ । विमलकान्त र अशोकले धारिलो हतियार दबियाको प्रयोग गरी घाँटी रेटेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रहरीले सो हतियार समेत बरामद् गरेको छ । प्रहरीका अनुसार मृतक र अभियुक्त तीनै जना लागूऔषध सेवनकर्ता रहेको खुलेको छ ।

घटना भएको दिन पनि उनीहरुले एकै ठाउँमा बसेर मदिरा तथा लागूऔषध सेवन गरेको पाइएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।