पालिका प्रमुखहरुको गुनासो : झुठा मुद्वाले हैरान भैयो

17
कार्यक्रममा उपस्थित अतिथिहरु । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – जिल्लाका स्थानीय तहका प्रमुखहरुले राम्रो नियतले विकासका काम गर्दा पनि विभिन्न क्षेत्रबाट झुठा मुद्वा हालिँदा हैरान भएको गुनासो गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास, महोत्तरी कार्यालयले सुक्रवार सदरमुकाम मलंगवामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित यहाँका विभिन्न पालिकाका प्रमुखहरुले झुठा उजुरबाजुरले काम गर्न अप्ठेरो परेको एकैस्वारमा गुनासो राखेका हुन् ।

सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले निर्माणका काम गर्दा सर्लाही जिल्लामै आफूले सबै भन्दा बढी मुद्वा झेल्नु परेको गुनासो पोखे । अनियमिता गरेर गलत गरेको भए आफू कानुन बमोजिमको सजाय भोग्न तयार रहेको नगर प्रमुख साहको भनाई छ ।

यस्तै, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले कमी कमजोरी सबैबाट हुने भन्दै मुद्वामामलाको अल्झनले विकासका कामलाई गति दिन नसकेको दुःखेसो पोखे । नगर प्रमुख यादवले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच तालमेल हुन नसक्दा काम गर्न अप्ठेरो परिरहेको बताए ।

त्यसैगरी, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवले हरेक कदममा झुठा मुद्वा पर्दा योजना र सोँच अनुसार काम गर्नै नपाएको गुनासो गरे । कार्यक्रममा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले इमान्दार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी, नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरलगायतले पूर्व–पश्चिम हुलाकी सडकको अलपत्र अवस्था, विद्युत् क्षेत्रको समस्यालगायतबारे मन्तव्य राखेका थिए ।

कार्यक्रममा अख्तियारको बर्दिवास कार्यालयका प्रमुख रामवन्धु सुवेदी र सूचना अधिकारी मनिराम ज्ञवालीले अख्तियारको काम कारवाहीबारे प्रष्ट पारेका थिए ।