अकोराबका केन्द्रीय सदस्य एस्माली र प्रदेश अध्यक्ष यादव सम्मानित

3
अकोराबको केन्द्रीय सदस्यमा निर्वाचित कृष्णकुमार एस्माली (बाँया) र प्रदेश २ अध्यक्ष मनोज कुमार यादव (दायाँ) सम्मान पत्र ग्रहण गर्दै । तस्बीर : उज्यालो अभियान

हरिपुर – सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का केन्द्रीय सदस्य कृष्णकुमार एस्माली र प्रदेश २ का अध्यक्ष मनोज कुमार यादवलाई शनिवार सर्लाहीको हरिपुरमा सम्मान गरिएको छ ।

नेपाल प्रेस युनियन सर्लाही शाखा र मुनाल सामुदायिक संस्था बरहथवाले संयुक्त रुपमा हरिपुर नगरपालिका कार्यालयको सभा हलमा एक कार्यक्रमका बीच अकोराबका केन्द्रीय सदस्य एस्माली र प्रदेश अध्यक्ष यादवलाई सम्मान गरेको हो । उनीहरुलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गरी सफल कार्यकालको शुभकामना एवं वधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

यस्तै, अकोराबको केन्द्रीय उपाध्यक्षमा निर्वाचित निमेश कुमार कर्णलाई पनि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरमार्फत सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ ।

नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलियाको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुर, महासंघका पूर्व जिल्ला अध्यक्ष शंकर श्रेष्ठ, महासंघकै पूर्व अध्यक्ष एवं कार्यक्रममा सम्मानित अकोराबका केन्द्रीय सदस्य कृष्ण कुमार एस्माली, अकोराबका प्रदेश अध्यक्ष मनोज कुमार यादव, नेपाल पे्रस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलिया, मुनाल सामुदायिक संस्थाका अध्यक्ष रामबाबु खड्का, पे्रस चौतारी सर्लाहीका अध्यक्ष अच्यूत सापकोटालगायतले मन्तव्य राख्दै नेपाल पत्रकार महासंघको चैत २५ गते हुन लागेको महाधिवेशनबाट सर्वसम्मत् रुपमा जिल्ला शाखाको नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।

महासंघका पूर्व अध्यक्ष द्वोय श्रेष्ठ र एस्माली तथा प्रेस युनियनका अध्यक्ष थपलिया, मुनाल सामुदायिक संस्थाका अध्यक्ष खड्काले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पे्रस युनियनले अघि सारेको अध्यक्षका उम्मेद्वार टंकबहादुर क्षेत्रीको नेतृत्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कार्यमा एकहुन पत्रकारहरुलाई आब्हान गरे ।

ज्योति लामाले सञ्चालन गरेको कार्यक्रममा घनश्याम बलम्पाकी मगरले स्वागत मन्तव्य राखेका थिए ।