विद्यार्थीले मनाए होली

2
सदरमुकाम मलंगवामा होली खेलेर घर फर्किदै गरेका विद्यार्थीहरु । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीका विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरुले आज एक आपसमा अबिर दलेर फागुपूर्णिमा अर्थात् होली मनाएका छन् ।

यो वर्ष चैत १५ गते पहाडी भेगमा र त्यसको भोलीपल्ट तराई क्षेत्रमा होली मनाइँदै छ । सर्लाहीमा भने दुवै दिन यो पर्व मनाउने गरिन्छ ।

भोलीदेखि विद्यालय तथा क्याम्पसहरु बन्द हुने भएकाले विद्यार्थीहरुले भने आज नै होली मनाएका हुन् । जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, मलङ्गवालगायत मुख्य बजार क्षेत्र तथा ग्रामीण भेगका विद्यालय र क्याम्पसका विद्यार्थीहरुले साथी सङ्गी तथा शिक्षकहरुसँग शुभकामना आदानप्रदान गर्दै होली मनाएका हुन् ।

विद्यार्थीहरु अबिरले रङ्गीबिरङ्गी भई घर फर्किएका छन् । विद्यालयहरु बन्द भएपछि बजार क्षेत्रमा भाडामा बस्ने विद्यार्थीहरु आ–आफ्नो घर फर्किएका छन् ।

पर्वकै अवसरमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) क्याम्पस इकाई समितिले बिहान जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेको छ । नेविसंघ क्याम्पस इकाई समितिका कार्यवाहक सभापति अभिमन्यू चौधरीको अध्यक्षता एवं पूर्व स्ववियू सभापति योगराज देवकोटा (युवराज) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिव न्यौपाने, पूर्व स्ववियू सचिव नारायण गुर्मछान, जिपी कोइराला फाउण्डेसन लालबन्दीका अध्यक्ष कल्याण पुरी, नेविसंघ पूर्व इकाई सभापति मनोज बख्रेल, नेविसंघ चितवनका उपाध्यक्ष रोशन बस्नेतलगायतले पर्वको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरे ।