टाउको काटेर युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

31

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा एक युवकको विभत्स ढंगले हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वुधवार रातीदेखि बेपत्ता मलंगवा नगरपालिका–१०, का ३० वर्षीय सुशील राय बिहिवार बिहान मृत फेला परेका थिए । रायको टाउको काटेर हत्या गरिएको अवस्थामा मलंगवा नगरपालिका–९ स्थित खेतमा बिहिवार बिहान शव फेला परेको थियो ।

हत्या आरोपमा ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय अशोक झालाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) सन्तोषसिंह राठौरले उज्यालो अभियानलाई जानकारी दिए । पक्राउ परेकामध्ये कमल पण्डित मलङ्गवा नगरपालिका–९ का स्थानीय हुन् । अशोक भने भारतीय नागरिक हुन् ।

प्रहरीका अनुसार भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामा बस्दै आएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपी लागू औषध प्रयोगकर्ता भएको पाइएको एसपी राठौरले बताए ।

बुधवार साँझ समेत उनीहरु सँगै बसेर लागूऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमल र मृतकको आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरोपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कमलका चारजना छोरी छन् ।

मृतक सुशीलको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि गएराती परिवारजनले बुझिसकेका एसपी राठौरले बताए ।