राजमार्गमा ट्याक्टर र टिफरको बालुवाले सर्बसाधारण हैरान, ट्राफिक मौन बसेको आरोप

1
लखन्देही खोलामा ट्याक्टरमा बालुवा लोड गरिँदै । (फाईल तस्बिर)

हरिवन – राजमार्गमा बालुवा, गिट्टी, माटो, ढुंगा बोकेर गुड्ने ट्याक्टर र टिफरका कारण सर्बसाधारण हैरान बनेका छन् ।

गिट्टी बालुवा बोक्दा ट्याक्टर र टिफर लगायत सवारी साधनमा त्रिपालले नछोपिँदा सर्बसाधारण हैरान बनेका हुन् । हुरी बतासको मौसममा त्रिपालले नढाक्दा गिट्टी, बालुवा तथा माटो राजमार्गमा हिड्ने पैदल, मोटरसाईकल एवं साईकल यात्रुहरुको शरिरभरी छ्याप्पै हुने गरेको छ । विशेषगरी आँखामा बालुवा परेर धेरै सर्बसाधारण पीडित बनिरहेका छन् । पछिल्लो समय त्यस्ता सामग्रीहरु त्रिपालले नढाकी राजमार्गमा बग्रेल्ती सबारी साधन गुडिरहेका छन् । विगत वर्षहरुमा कतिपय सर्बसाधारणको त ट्याक्टरमा राखेको बालुवा उडाएर आँखामा पर्दा आँखा नै खराब भएको थियो । ट्याक्टरको गिट्टी बालुवा उडेर शरिरभरी छ्याप्पै हुने मात्र हैन आँखामा परेर हैरान भईएको नवराज अधिकारीले गुनासो गरे ।

जिल्ला स्थित लखन्देही, चापिनी, कालिञ्जोर, फूलजोर, बागमती, बाँके लगायत खोलाबाट ट्याक्टर र टिफरले गिट्टी बालुवा ओसार्ने गरेका छन् । विशेषगरी प्लटिङ गर्ने जग्गा उकास्ने तथा खाडलहरु भर्ने काममा पछिल्लो समय खोलाको बालुवा तथा माटो बोकेर ट्याकटर र टिफरहरु राजमार्गमा बग्रेल्ती दौडिने गरेको एक जानकारले बताए । त्यस्तै पूर्व–पश्चिम राजमार्गमा पछिल्लो केही दिनयता असुरक्षित ढंगले ढुवानी हुँदा सडकभरी गिट्टी छरपष्ट बनेको देखिन्छ ।

यससम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उचित ध्यान नपुगेको सर्बसाधारणहरुको गुनासो छ । ट्राफिक प्रहरीले कडाई नगर्दा त्रिपालले नढाकी खुलेआम गिट्टी बालुवा बोकेका सबारीसाधन ओहोरदोहोर गरिरहेको सर्बसाधारणहरु बताउँछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बालवा, गिट्टी बोक्दा सबारीसाधनले त्रिपालले ढाक्नुपर्ने बताए । ‘हाँमीले राजमार्गमा चेकजाँच गरिरहेका छौं’, प्रहरी निरीक्षक दोङले दाबी गरे, ‘सबारी साधनवालाहरुलाई सचेत एवं कारबाही समेत गरिरहेका छौं ।’