घरमै बसेर होली मनाउन आग्रह

15
सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सर्लाहीमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठक बसेको छ ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) अध्यक्ष रहने यो समितिको बैठक लामो समयपछि सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको हो । बैठकले छिमेकी मुलुक भारतमा अहिले तीव्र रुपमा संक्रमण बढिरहेको अवस्थामा सीमावर्ती जिल्ला सर्लाहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा भारतीय सीमाबाट आउजाउ गर्नेहरुको अभिलेख राख्ने, नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न बिहिवार (आज) देखि मलंगवा नाकामा हेल्थ डेक्स राख्ने, संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनामूलक कार्यक्रमलाई तीव्र पार्ने, व्यापार व्यवसायमा भीडभाड हुन नदिने, मास्क नलगाउनेलाई कारवाही गर्ने जस्ता निर्णय भएका छन् ।

यस्तै, बैठकले सबै सर्लाहीवासीलाई घर–घरमा बसेर होली अर्थात फागू पूर्णिमा मनाउन पनि आग्रह गरेको छ । होलीमा भीडभाड हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले वातावरण तय गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।