गढीमाईलाई ८ विकेटले पराजित गर्दै सर्लाही एकेडेमी फाइनलमा

4

मलंगवामा – सर्लाहीको मलंगवामा जारी खुल्ला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा गढीमाई जमुनियालाई ८ विकेटले पराजित गर्दै सर्लाही एकेडेमी मलंगवा फाइनलमा प्रबेश गरेकाे छ ।

दुर्गा पुजा समिति जिल्ला विकास चोक मलंगवा-१० ले तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले व्याटिङ गरेको गढीमाई जमुनियाले निर्धारित २० ओभरको खेलमा १८.१ ओभरमा अलआउट हुँदै १०५ रन मात्र बनाएकाे थियाे । गढीमाईका लागि इर्शाद खानले सर्बाधिक २० रन बनाएका थिए । गढीमाईलाई सस्तोमै समेट्ने क्रममा सर्लाही एकेडेमीका तुषार कुमारले ४ विकेट लिएका थिए ।

१ सय ६ रनको लक्ष्य सहित मैदानमा ओर्लीएकाे सर्लाही एकेडेमीले ८.१ ओभरमै २ विकेट गुमाउँदै जित हात पारेको छ । सर्लाहीका लागि नजारेले नटआउट ५८ रनको पारी खेलेका थिए । २५ बलको सामना गर्दै नजारेले ५ छक्का र ३ चौका प्रहार गर्दै टिमलाई जिताएको आयोजक समितिका सदस्य मुकेश प्रजापतिले जानकारी दिएका छन् । नजारेसगैं ओपनिङ्ग गर्न आएका हैदरले पनि २३ बलमा ४७ रन बनाएका थिए । गढीमाईका लागि कोपीकान्तले मात्र २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच सर्लाहीका लागि ४ विकेट लिने खेलाडी तुषार कुमारलाई प्रदान गरिएको छ । तुषारलाई आयोजक समिति अध्यक्ष रामकेवल रायले ट्रफी प्रदान गरेका छन् ।

बुधवार हुने दोस्रो सेमीफाइनल खेलमा लक्ष्मी दुई मलंगवा र सनराइज मदनपुरका बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रवार हुने भएको छ । प्रतियोगिताको बिदेतालाई नगद रु १ लाख र उप बिजेतालाई नगद रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

फोटो क्याप्सन : म्यान अफ द म्याच घाेषित तुषारलाई ट्रफी प्रदान गर्दै समितिका अध्यक्ष रामकेवल राय (रातो टोपीमा) ।