सर्लाहीका अधिकांश क्षेत्रमा आज दिनभर बत्ती अवरुद्ध हुने

10
सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाहीका विभिन्न क्षेत्रमा आज दिनभर नै बिजुली बत्ती काटिँदै छ ।

नियमित मर्मत सम्भारका लागि बत्ती काटिने भएको हो । मलंगवा वितरण केन्द्र अन्तर्गत हरिपुर सवस्टेशनदेखि मलंगवासम्मको ३३ केभी लाईन बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यस्तै, लालबन्दी वितरण केन्द्रको हरिवन फिडरमा ट्रान्सफर्मर अपग्रेडिङ तथा बुस कटिङ र मर्मत कार्यका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बत्ती काटिने भएको छ । हरिवन फिडर सट डाउन हुँदा उक्त फिडर अन्तर्गत हरिपुर नगरपालिका १ र २, लालबन्दी नगरपालिका १२, बागमती नगरपालिका १, २, ३, ४, ११ र १२ लगायत हरिवन नगरपालिकाका सबै वडाहरुमा विद्युत् कटौति हुने लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले जानकारी दिए ।

यसैगरी, बरहथवा वितरण केन्द्र अन्तर्गत लौकठ, धनगढा, महिनाथपुरलगायतका क्षेत्रमा केही समय विद्युत् अवरुद्ध गरिने भएको छ । बरहथवा बजार क्षेत्रमा भने अघिल्लो हप्तानै मर्मतको काम गरिएकाले विद्युत् अवरुद्ध नहुने बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले बताए ।

हावाहुरी चल्ने अहिलेको मौसममा मर्मत सम्भारको काम गरेर विद्युत् प्रणालीलाई चुस्त पार्न लागिएको प्राविधिकहरुले बताएका छन् । सर्लाहीमा रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाईन जिल्लाभर वितरण हुँदै आएको छ ।