पत्रकार अलीमाथि कुटपीट गर्ने अभियुक्तलाई कारवाहीको माग राख्दै सीडीओ र एसपीलाई ध्यानाकर्षण पत्र

7
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष विश्वानाथ ठाकुर (बीचमा) । साथमा पत्रकार टंकबहादुर क्षेत्री । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – पत्रकार बख्तियार अलीमाथि मरणासन्न हुने गरी आक्रमण गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै सर्लाहीका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

घटना भएको एक साता बितिसक्दा समेत अभियुक्त पक्राउ नपरेका भन्दै जिल्लाका पत्रकारहरुले यस घटनाप्रति गम्भीरता देखाई अभियुक्तलाई तत्काल पक्राउ गर्न माग राखी सुक्रवार दिउँसो प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष एवं एभिन्यूज टेलिभिजनका प्रतिनिधि अलीमाथि गत फागुन २७ गते आफ्नै भाई ईफ्तिखार अलीले हम्मरले आक्रमण गरी गम्भीर घाईते बनाएका थिए ।

घाईते पत्रकार अलीको अहिले सुमेरु अस्पताल, काठमाण्डौंमा उपचार चलिरहेको छ । स्वास्थ्य अवस्था खराब भएपछि उनलाई बिहिवार मात्रै थप उपचारका लागि काठमाण्डौं पु¥याइएको हो । पारिवारिक विवादका कारण घटना भएपनि ज्यानै लिने हिसाबले भएको यस घटनाका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन जिल्लाका पत्रकारहरुले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको नेतृत्वमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका जिल्लाका पत्रकारले अब ५ दिनभित्र अर्थात चैत ११ गतेभित्र दोषीलाई पक्राउ गरी कानुनी कार्वाही नभए चरणवद्ध आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

सर्लाही प्रहरीले यस घटनामा संलग्न व्यक्तिको खोजी भइनै रहेको जनाएको छ । अभियुक्त भारतमा लुकेर बसेको आशंका गरिएको छ । प्रहरी उपरीक्षक राठौरले अभियुक्तलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको बताए ।

सीडीओ र एसपीलाई ध्यानाकर्षण पत्र बुझाउनुअघि बसेको पत्रकारहरुको बैठकले घाईते पत्रकार अलीको उपचारका लागि व्यक्तिगत रुपमा तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नाममा रहेको अक्षय कोषको ब्याजबाट गरि १ लाख रुपैंया सहयोग गर्ने निर्णय समेत गरेको छ ।