कर कार्यालयको टोली अनुगमन गर्न आउने हल्लाले बयलवास बजार बन्द

बयलवास – कर कार्यालयको टोली बजार अनुगमनमा आउने हल्लाले सर्लाहीको ईश्वरपुरस्थित पूर्व भेगको प्रमुख व्यापारिक केन्द्र बयलवास बजारका धेरैजसो व्यापारीले दुई दिनदेखि पसल खोलेका छैनन् ।

बाराको पथलैयामा रहेको प्रादेशिक कर कार्यालयको टोली बयलवास बजारको अनुगमनका लागि आउन लागेको हल्लाबाट त्रसित भई बजारका अधिकांश व्यापारीले पसल बन्द गरेर बसेका हुन् । बजार बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।

वुधवार दिनभर बजार पूर्णरुपमा ठप्प रह्यो । सबै पसलका सर्टर झार्दा बजार सुनसान देखिन्थ्यो । बिहिवार भने केही व्यवसायीले पसल खोलेका थिए ।

उद्योग वाणिज्य संघ बयलवास, ईश्वरपुरका अध्यक्ष विष्णुहरि मैनालीले कर कार्यालयको टोली अनुगमनमा आउनेबारे आफूहरुलाई जानकारी नभएको र जानकारी नदिइ आएको खण्डमा पनि डराएर पसल नै बन्द गर्नुनपर्ने बताउँछन् । अनुगमन टोली आउँदा कर, प्यान नम्वर र खरिद, बिक्री हेर्ने भएकाले प्रक्रिया पु¥याएर सञ्चालन गरिएका व्यापार, व्यवसायका सञ्चालक डराउनु नपर्ने मैनालीको भनाई छ ।

यसअघि पनि सर्लाहीका अन्य बजारहरुमा कर कार्यालयको टोली अनुगमन गर्न आउने हल्ला चल्दा तथा आएकै बेला पनि अधिकांश व्यापारीहरु बजार बन्द गरेर बस्ने गरेका थिए । केही दिन पहिले हरिवन बजारमा अनुगमन टोली आउँदा व्यापारीहरुको पसल बन्द गरेर भागाभाग मच्चिएको थियो । यो पटक बयलवास बजारमा यही अवस्था देखिएको हो ।

जिल्लामा नियमित बजार अनुगमन हुन सकिरहेको छैन् । चाडपर्वको अवसरमा जिल्ला प्रशासन कार्यालयले सिम्वोलिक हिसाबमा मुख्य बजारका दुई÷चार वटा पसलको अनुगमन गर्ने गर्छ । त्यसरी अनुगमन गरिँदा म्याद गुज्रिएका सामग्री बरामद हुनुका साथै मूल्यसूची नभएको, उत्पादन मिति नराखी खाद्यान्न बिक्री गरेकोजस्ता कमीकमजोरी भेटिने गरेको छ ।