सर्लाहीमा जनगणना २०७८ को तयारी सुरु, कार्यालय स्थापना

3
सदरमुकाम मलंगवामा वुधवार स्थापना गरिएको जिल्ला जनगणना कार्यालय । (तस्बीर: उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा वुधवार जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ ।

सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागबाट सर्लाही जिल्लाका लागि खटाइएका जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा मंगलवार बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले २०७८ सालमा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य छ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने निर्णय गरेको थियो ।

मंगलवारको सोही निर्णय बमोजिम वुधवार जिल्ला स्तरीय कार्यालय खोलिएको हो । यस्तै, आगामी वैशाख १ गतेबाट सञ्चालन हुने गरी मलंगवा, कविलासी, गोडैता, ईश्वरपुर, लालबन्दी र बरहथवामा स्थानीय जनगणना कार्यालय खोलिने जिल्ला जनगणना अधिकारी पोखरेलले जानकारी दिए ।

पोखरेलले कार्यालयसँग सीमित बजेट र कर्मचारी भएकाले यहीँका स्थानीय तहहरुसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताएका छन् । जनगणनाका लागि सुपरीवेक्षक र गणकहरु करारमा नियुक्ति गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाईन विज्ञापन गरेको छ ।

इन्टरनेटको सुविधा नभएकाहरुले सदरमुकाम मलंगवामा वुधवारदेखि खुलेको जिल्ला जनगणना कार्यालयमै आएर पनि आवेदन दिन आउन जिल्ला जनगणना अधिकारी पोखरेलले आग्रह गरेका छन् । वुधवारबाट जिल्ला स्तरीय कार्यालय खुलेसँगै केन्द्रबाट खटिएर आएका आफूहरु अब केही दिन कार्यालयको व्यवस्थापन, स्थानीय तह तथा जनगणना समन्वय समितिको पदाधिकारी रहेका जिल्लास्थित विभिन्न कार्यालयहरुलाई पत्राचार गर्ने कार्यमै ब्यस्त हुने पोखरेलले सुनाए ।

नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुन्छ । सोही अनुसार २०७८ सालमा हुन लागेको जनगणना अन्तर्गत सुपरीवेक्षकहरुले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकहरुले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्नेछन् ।