पत्रकार अलीलाई थप उपचारका लागि काठमाडाैं लगियो, अभियुक्त अझै फरार

2
घाईते पत्रकार अली ।

मलंगवा – नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष बख्तियार अलीलाई थप उपचारका लागि बिहिबार काठमाडाैं लगिएको छ ।

फागुन २७ गते राती आफ्नै कान्छो भाईले मलंगवा नगरपालिका–१० स्थित घरै अगाडि हम्मरले आक्रमण गर्दा गम्भीर घाईते भएका पत्रकार अलीलाई थप उपचारका लागि काठमाडाैं लगिएको हो । अलीले वुधवारबाट स्वास्थ्यमा थप समस्या भएको महसुस गरेपछि बिहिवार दिउँसो जनकपुरबाट विमानमार्फत काठमाण्डौं लगिएको अलीका भाई समेत रहेका पत्रकार अनवर अहमद्ले जानकारी दिए ।

पत्रकार अलीलाई यसअघि सिटिस्क्यान गर्न चैत २ गते जनकपुर लगिएको थियो । त्यहाँ छाती र खुट्टामा चोट देखिएको थियो भने चिकित्सकले टाउकोमा रगत जमेको आशंका गरेका थिए ।

बिरामीलाई यहाँबाट अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्ने गरी पठाइएको परिवारका सदस्यले बताएका छन् । अनवरका अनुसार टाउकाे अत्यन्त दुख्न थालेपछि अलिलाई अपरझट काठमाडाैं पठाईएकाे हाे । यता, पत्रकार अलीमाथि आक्रमण गर्ने भाई घटना भएको एक साता भइसक्दा समेत पक्राउ परेका छैन् । दोषीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले बताउँदै आइरहेको छ ।

जिल्लाका पत्रकारहरुले सुक्रवार सदरमुकाम मलंगवामा भेला भएर यस घटनालाई गम्भीर रुपमा लिन र दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै जिल्लाका सुरक्षा अधिकारीहरुको ध्यानाकर्षण गराउने भएका छन् ।

यसअघि घटना भएको भोलीपल्टै पनि नेपाल पत्रकार महासंघका जिल्ला सचिव श्रवण थापाकाे नेतृत्वमा उज्यालाे अभियान दैनिकका अध्यक्ष एवं नागरिक दैनिकका समाचारदाता टंकबहादुर क्षेत्री, कान्तिपुर दैनिकका ओमप्रकाश ठाकुर, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद थपलिया, गोरखापत्रका जिल्ला समाचारदाता एवं सामुदायिक रेडियो एकताका समाचारबाचक जनार्जन खत्री, न्यूज २४ का अनवर अहमद्, थाहा खबरका घनश्याम बलम्पाकी, माउण्टेन टेलिभिजनका राजीव साहलगायतले प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर र प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई भेटेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तुरुन्त पक्राउ गरेर कडा भन्दा कडा कारवाहीको माग राखेका थिए ।

घटना पारिवारिक भएपनि ज्यानै लिने हिसाबले भएको यस घटनाका दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही हुनुपर्ने जिल्लाका पत्रकारहरुको माग छ ।