सिजन सक्किने बेला गोलभेँडा किसानले भाउ पाउन थाले

4
अन्यत्र निकासीका लागि लालबन्दी बजारमा क्रेटमा गोलभेँडा हालिँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – उत्पादनयाम सक्किने बेला गोलभेँडाले भाउ पाउन थालेपछि गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीका किसानले राहत महसुस गरेका छन् ।

जिल्लाको प्रमुख तरकारी बजार लालबन्दीमा अहिले स्थानीय जातको गोलभेँडा प्रतिक्रेट २५० देखि ३०० रुपैयाँ र उन्नत जातको गोलभेँडा ४०० रुपैयाँमा बिक्री भइरहेको छ । यो मूल्यमा गोलभेँडा बेच्दा आफूहरुको मेहनत र लागत उठ्ने अवस्था रहेको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान गणेश महतोले बताए ।

किसानलाई बीचमा केही समय गोलभेँडाको भाउ प्रतिक्रेट २०० सय रुपैयाँ भन्दा पनि कम हुँदा लगानी उठाउन समेत मुस्किल परेको थियो । उत्पादनको सुरुमा किसानले गोलभेँडाबाट प्रतिक्रेट एक हजार रुपैयाँसम्म मूल्य पाएका थिए । त्यसपछि भने निरन्तर भाउ घट्यो ।
कात्तिकदेखि फल्न सुरु गर्ने गोलभेँडाको अब उत्पादनयाम सक्किने बेला भएको किसान महतोले जानकारी दिए । धान बाली भित्र्याएर रोपेको गोलभेँडाले अहिले उत्पादन दिइरहेको किसानहरुले बताएका छन् ।

सर्लाहीमा उत्तरी भेगको लालबन्दी र हरिवन नगरपालिकाका किसानले व्यवसायिक रुपमा गोलभेँडा खेती गर्छन् । लालबन्दीका थोक तरकारी व्यापारी मोहम्मद उस्मानले बजारमा गोलभेँडा कम भित्रिन थालेपछि मूल्य बढेको बताए ।

व्यापारी उस्मानले यहाँबाट काठमाण्डौंलगायत देशका अन्य शहरहरुमा गोलभेँडाको निर्यात परिमाण घट्दै गएको जानकारी दिए । खडेरीले गर्दा उत्पादनमा गिरावट आएकाले अहिले हरेक हरिया तरकारीको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।

यहाँ फल्ने गोलभेँडा स्थानीय स्तरमा खपत हुनुका साथै लालबन्दी, नवलपुर, तीनघरे र हरिवन बजारबाट अन्यत्र निकासी हुने गरेको छ ।