सर्लाहीको चितायनमा आयोजित प्रदेश स्तरीय भलिबलमा धनुषा च्याम्पियन

प्रथम ट्रफी उचाल्दै धनुषाका खेलाडीहरु । (तस्बीर : उज्यालो अभियान)

चितायन – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनमा आयोजित तेस्रो प्रदेश नं. २ स्तरीय भलिबल प्रतियोगिताको उपाधि धनुषाले जितेको छ ।

मंगलवार सम्पन्न फाइनल खेलमा नवलपरासी जिल्लाको नवलपुरलाई २५–२२, २५–१७ र २५–२३ को सोझो सेटमा पराजित गर्दै धनुषा बिजेता बनेको हो । जितसँगै धनुषाले ५० हजार नगदसहित पहिलो ट्रफी उचालेको छ भने उपबिजेता नवलपरासीले ३० हजार नगद र दोस्रो ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको म्यान अफ द सिरिज बिजेता टिम धनुषाकै सरोज हायूलाई प्रदान गरियो । उनले पाँच हजार नगदसहित मेडल प्राप्त गरे ।

यस्तै, सर्लाहीका धीरेन्द्र चौधरी म्यान अफ द म्याच बन्न सफल भए । उनलाई सर्लाहीकै ईश्वरपुर नगरपालिका निवासी समाजसेवी मनोज कुमार आचार्यले खेल खेल्नका लागि थप हौसल्ला प्रदान गर्न ३० हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।

प्रतियोगिताका बिजेता तथा उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई संविधान सभा सदस्य रामचन्द्र चौधरी, समाजसेवी मनोजकुमार आचार्य, आयोजक लक्ष्मीनाथ युवा क्लब चितायनका अध्यक्ष नरहरि धामीलगायतले पुरस्कार वितरण गरे ।

महाशिवरात्रिको अवसरमा फागुन २८ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका थिए । जिल्लास्तरीयबाट सुरुभई अञ्चल, क्षेत्रहुँदै प्रदेश स्तरीयसम्म आइपुगेको यस प्रतियोगितालाई आगामी दिनमा अन्तरप्रदेश हुँदै राष्ट्रिय स्तरको बनाउने आफूहरुको योजना गरेको आयोजकका चेतनारायण धामीले बताए ।

जिल्लाको ग्रामीण भेग पर्ने भएपनि चितायनमा बर्सेनि आयोजना हुने भलिबल खेल हेर्न सयौँ खेलप्रेमी सहभागी हुँदै आएका धामीले जानकारी दिए । मंगलवारबाट भलिबल प्रतियोगितासँगै चितायनमा जारी मेलाको समेत समापन गरिएको छ ।