सिटिस्क्यान गर्न पत्रकार अलीलाई जनकपुर लगियो

4

मलंगवा – आफ्नै भाईले सांघातिक आक्रमण गर्दा घाईते भएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष एवं एभिन्यूज टेलिभिजनका जिल्ला संवाददाता बख्तियार अलीलाई सिटिस्क्यान गर्न सोमवार दिउँसो जनकपुर पु¥याइएको छ ।

अलीमाथि फागुन २८ गते बिहिवार सदरमुकाम मलंगवा नगरपालिका–१०, स्थित घरको गेटमै कान्छो भाईले अचानक हम्मरले आक्रमण गरेका थिए । आक्रमणबाट घाईते अलीको टाउको र खुट्टामा गहिरो चोट लागेको छ भने शरीरका विभिन्न भागमा निलडाम छन् ।

अलीको आइतवारदेखि निरन्तर मुखबाट रगत आउन थालेपछि सिटिस्क्यानका लागि जनकपुर लगिएको सँगै गएका पत्रकार अनवर अहमद्ले बताए । सिटिस्क्यान गर्दा दाँया खुट्टाको हड्डी भाँचिएको देखिएको छ, स्वास्थ्यकर्मीले टाउकोको रिपोर्ट पनि अब केहीबेरमै आउँछ भनेका छन्, पत्रकार अलीले सोमवार राती ८ बजेतिर उज्यालो अभियानसँग भने, ‘हामी रिपोर्टको प्रतिक्षामा छौँ ।’

अलीमाथि आक्रमणको घटना हुनासाथ सुक्रवार बिहान जिल्लाका पत्रकारहरुले सुरक्षा अधिकारीहरुसँग भेट गरी दोषीमाथि कारवाहीको माग गरेका थिए । उज्यालो अभियान दैनिकका अध्यक्ष टंकबहादुर क्षेत्री, कान्तिपुर दैनिकका ओमप्रकाश ठाकुर, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद थपलिया, नेपाल पत्रकार महासंघका जिल्ला सचिव श्रवण थापा, गोरखापत्रका जिल्ला समाचारदाता जनार्जन खत्री, न्यूज २४ का अनवर अहमद्, थाहा खबरका घनश्याम बलम्पाकी, माउण्टेन टेलिभिजनका राजीव साहलगायतले प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर र प्रहरी नायब उपरीक्षक मदन कुँवरलाई भेटेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तुरुन्त पक्राउ गरेर कडा भन्दा कडा कारवाहीको माग राखेका थिए ।

जिल्लामा क्रियाशील पत्रकारहरुको संघसंगठनहरुले पनि घटनाको निन्दा गरी दोषीमाथि कारवाहीको माग राखेका छन् । प्रहरीले घटनामा संलग्न पत्रकार अलीका भाईको खोजी भइरहेको जनाएको छ ।