प्रदेश स्तरीय भलिबलमा सर्लाही र महोत्तरीको बिजय सुरुवात

5

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा सुक्रवारदेखि तेस्रो प्रदेश नं. २ स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।

लक्ष्मीनाथ युवा क्लब चिताईनको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत सुक्रवार पहिलो दिनको खेलमा महोत्तरी र सर्लाहीको बडकुर्वा बिजयी भएका छन् । पहिलो खेलमा महोत्तरीले रौतहटलाई लगातार २ सेट तथा दोस्रो खेलमा बडकुर्वाले सप्तरीलाई पनि लगातार २ सेटले नै पराजित गरेका हुन् ।

चैत २ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले ५० हजार तथा उपबिजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पर्ने छन् । यस्तै, १२ वटा टिम सहभागी यस प्रतियोगितामा विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुर, उपमेयर रेणुका काफ्ले, रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, पूर्व सांसद रामचन्द्र चौधरी, समाजसेवी मनोजकुमार आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि मनोजकुमार आचार्यले खेलका अफिसियलहरुलाई १५ थान जर्सी, खेलाडीलाई एक लाखको जीवन बीमा र जग्गा उपलब्ध गराइएको खण्डमा ८ देखि १० लाख रुपैयाँ भलिबल कोट निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका आयोजकले जनाएको छ ।