धरौटीमा छुटे लालबन्दीका १३ जुवाडे

लालबन्दी – सर्लाहीको लालबन्दीबाट पक्राउ परेका १३ जना जुवाडे धरौटी रकम बुझाएर छुटेका छन् ।

लालबन्दी नगरपालिका–७, डुमडुमेस्थित तरकारी बजारमा रहेको एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले गत सोमवार १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु सबै जिल्ला प्रशासन कार्यालयमा धरौटी रकम बुझाएर वुधवारसाँझ हिरासतमुक्त भएका हुन् ।

बरामद भएको रकमका आधारमा १३ जनासँग दुई हजारदेखि १० हजार रुपियाँसम्म धरौटी लिएर छाडिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । जुवाको खालबाट प्रहरीले एक लाख ५४ हजार ४४५ रुपियाँ बरामद गरेको थियो ।

पक्राउ परेकाहरुलाई म्याद थप गर्न सदरमुकाम मलंगवा लानेक्रममा पक्राउ परेकाका आफन्त र स्थानीयद्वारा मङ्गलवार सामान्य अवरोध समेत भएको थियो ।