खोलामा अवैध उत्खनन गर्नेलाई जरिवाना

प्रहरीले नियन्त्रणमा लिएर ईश्वरपुर नगरपालिका कार्यालयलाई बुझाएको खोला उत्खनन्मा सहभागि सबारी साधन । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – सर्लाहीको ईश्वरपुरमा बाँके खोलाबाट अवैध ढंगले गिट्टी, बालुवा तस्करी गर्ने जेसीबी र टिपरलाई कारवाही गरिएको छ ।

रातको समयमा उत्खनन गरेर निकासी गर्ने तीनवटा टिपर र दुईवटा जेसीबीलाई दण्ड जरिवाना गरेर छाडिएको नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए । नेपाल प्रहरीले फागुन १७ गते नै पक्राउ गरेर नगरपालिका कार्यालयको जिम्मा लगाएको जेसीबीलाई १५ हजारका दरले र टिपरलाई ईश्वरपुर नगरपालिका कार्यालयले १० हजारका दरले दण्ड जरिवाना गरेर छाडेको हो । अवैध ढंगले उत्खनन गर्दा बनेको खाल्डो पुर्नका लागि यत्तिका दिनसम्म जेसीबी र टिपरलाई नियन्त्रणमा राखेर खाल्डो पुरेपछि मात्रै आगामी दिनमा यस्तो गतिविधि नदोहो¥याउने शर्तमा छाडिएको नगरप्रमुख देवकोटाले दाबी गरे ।

सर्लाहीमा बाँकेसहित फूलजोर, कालिन्जोर, लखन्देही र बागमती खोलामा मापदण्ड विपरीत अत्यधिक मात्रामा दोहोन भइरहेको गुनासो बारम्बार आइरहन्छ । यी खोलाहरुमा अहिले पनि पूर्व–पश्चिम राजमार्गबाटै प्रष्ट देखिने गरी जथाभावी उत्खनन भइरहेको छ । ठेक्का लगाइएका ठाउँहरुमा समेत स्थानीय तहहरुले बेवास्ता गर्दा दुर्घटना निम्तने गरी अत्यन्त ठूल्ठूला खाल्डो पारेर गिट्टी, बालुवा निकाल्ने काम भइरहेको स्थानीय बासिन्दाहरुले गुनासो गर्दै आएका छन् । खोला उत्खननबारे नियमित अनुगमन समेत हुन सकेको छैन् । कहिलेकाँही हुने अनुगमन र कार्बाही खासै प्रभाकारी नदेखिएको जनगुनासो छ ।