ईन्दुशंकर चिनी उद्योगद्वारा उखु क्रसिङ बन्द

14

हरिवन – सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ बन्द गरेको छ ।

जारी सिजनमा ७९ दिन उखु क्रसिङ गरेर मंगलबार बेलुका साँढे ५ बजेदेखि ईन्दुशंकर चिनी उद्योगले उखु लिन बन्द गरेको हो । उद्योगले यो सिजनमा २२ लाख १६ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए ।

चालू सिजनमा २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भएपनि विविध कारणले लक्ष्य अनुसार उखु पेल्न नसकिएको उद्योगले जनाएको छ । ईन्दुशंकर गत पुस ६ गतेदेखि सञ्चालनमा आएको थियो ।

उद्योगबाटै उखुको भुक्तानि वर्षौंसम्म नपाईने अनि सरकारी अनुदान पाउन पनि वर्षदिन भन्दा बढी कुर्नुपर्ने लगायत झञ्झट बेहोर्नु पर्ने भएपछि किसानले पछिल्लो समय उखु खेती छाड्दै गएका छन् । जसका कारण चिनी उद्योगहरुको लक्ष्य अनुसार उखु क्रसिङ हुन सकेको छैन । ईन्दुशंकरले केही वर्षअघिमात्र ४० लाख क्विन्टल हाराहारी उखु क्रसिङ गरेको थियो ।

अन्य चिनी उद्योगले भुक्तानिमा किसानलाई लामो समयसम्म हैरानी दिइ रहेपनि इन्दुशंकरले भने निरन्तर भुक्तानि गरिरहेको उखु प्रवन्धक रजकले दावी गरेका छन् । उद्योगले जारी सिजनमै ७५ करोड रुपैंया भुक्तानी गरिसकेको र बाँकी रहेको भुक्तानीका लागि पनि तालिका प्रकासित गरिसकिएको उखु प्रबन्ध रजकले जानकारी दिए ।

सर्लाहीकै गोडैता नगरपालिका अन्तर्गत बगदह स्थित महालक्ष्मी सुगर मिल पनि गत बुधबार अर्थात फागुन १९ गते नै बन्द भईसकेको छ । आठ लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरेको सो उद्योगले अझै पनि किसानको भुक्तानी गरेको छैन् ।

अघिल्ला वर्षहरुमा पनि किसानले आन्दोलन गरेपछि मात्रै महालक्ष्मीले पूरा भुक्तानी गरेको थियो । महालक्ष्मीले पुस ५ गते उद्योग चलेदेखि चार÷पाँच दिनको मात्रै भुक्तानी गरेको किसानहरुले बताएका छन् । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग गत र यो वर्ष सञ्चालनमै आएन् ।