हरिवनमा स्थापित प्रदेशकै ठूलो आश्रमको उद्घाटन

4
कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रदेश दुई सरकारका सामाजिक विकास मन्त्री साह, हाँस्यकलाकारद्वय श्रेष्ठ र आचार्य लगायत । (तस्बिर : उज्यालो अभियान)

नयाँरोड – सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोड स्थित मानव सेवा आश्रमको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

प्रदेश नम्बर दुई सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यता तथा नेपालका चर्चित हाँस्यकलाकारद्वय आश्रमका सद्भावनादुत मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको विशिष्ट आतिथ्यतामा आश्रमको उद्घाटन गरिएको हो । आश्रमका प्रमुख संरक्षक एवं आश्रमको मातृ संस्था सर्वोत्कृष्ट जीवन शास्वत चिन्तनका संस्थापक अध्यक्ष डा. गोपाल टण्डनको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विशिष्ट आतिथ्य ग्रहण गरेका वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले मार्मिक गीत सहित आफ्नो सारगर्भिक मन्तव्य व्यक्त गरेका थिए । श्रेष्ठ र आचार्यले अशक्त, बेसहारा लगायत मानवको सेवामा समर्पित संस्थाका पदाधिकारी सहित हरिवनबासीप्रति हार्दिक आभार समेत प्रकट गरेका छन् । हरिवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सिताराम पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा, आश्रमका अध्यक्ष रामजी अधिकारी, हरिवन नगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्ष सहित जनप्रतिनिधिहरु, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र उल्लेख्य महिला सहित स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका सामाजिक विकास मन्त्री साहले प्रदेश नम्बर दुईकै ठूलो आश्रमलाई निरन्तर सञ्चालनका लागि प्रदेश सरकारबाट यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाएको उद्घाटन समारोहका कार्यक्रम सञ्चालक एवं मानव सेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा आश्रम स्थापनाका लागि आर्थिक, भौतिक लगायत सबैखाले सहयोग गर्ने हरिवन नगरपालिका कार्यालयकी उपमेयर रेणुका पौडेल, आश्रमका लागि १० वटा दुई तले खाट (तल र माथि सुत्न मिल्ने) सहयोग गर्ने सनराईज बोर्डिङ स्कूलका संस्थापक ज्ञानप्रसाद पोखरेल, आश्रममा महिना दिनसम्म लगातार खाना खुवाउने सर्लाही जीवन अस्पताल सुखेपोखरीका सञ्चालक दम्पति अर्जुन मैनाली र अमृता उप्रेती लगायतलाई आश्रमले कार्यक्रममै कदर पत्र सहित सम्मान गरेको छ । त्यस्तै कार्यक्रमकै अवसरमा आश्रमका सद्भावनादुत एवं वरिष्ठ हाँस्यकलाकारद्वय श्रेष्ठ र आचार्यलाई पनि कदरपत्र सहित सम्मान गरिएको थियो भने अन्य सहयोगी दाताहरुलाई पनि सम्मान गरिएको आश्रमले जनाएको छ ।

केही महिनाअघि देखि नै सञ्चालनमा आएको भए पनि आश्रमको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । आश्रममा हाल विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका ६१ जना सडक मानव तथा मानसिक समस्या भएका व्यक्तिहरुलाई पालनपोषण गरेर राखिरहेको आश्रमका केन्द्रीय उपाध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार, उद्धार गरिएकामध्ये १० जनालाई यसअघि नै परिवार पहिचान गरेर परिवारकै जिम्मा लगाइसकिएको छ ।

मासिक ४२ हजार रुपैंया भाडा तिर्नेगरी आश्रम सञ्चालनमा ल्याईएको र निकट भविष्यमा हरिवन नगरपालिका क्षेत्र भित्रै आश्रमको आफ्नै भवन बनाउन जमिनको खोजी भईरहेको उपाध्यक्ष पौडेलले बताए । आश्रम अभिभावक एवं हरिवन नगरपालिका वडा नं. ११ का वडा सदस्य सुकदेव कार्कीकाअनुसार आश्रममा हाल सडकमा वेवारिसे अवस्थामा हिँडने मानव, मानसिक बिरामी, अशक्त, बेसहारा लगायतलाई आश्रय दिईएको छ ।