भीरबाट खसेर भूजेलको मृत्यु

13

नारायणखोला – सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित पन्ध्रबिगाह भन्ने ठाउँमा भीरबाट लडेर लालबन्दी नगरपालिका–११, बाहुनीका ३५ वर्षीय कुमार भुजेलको मृत्यु भएको हो । भुजेल विवाहमा खाना पकाउने कुकको काम गर्न नारायणखोला गएका थिए । भीरबाट लडेका भूजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डाईनी खोलाको बगरमा मंगलबार बिहान भूजेलको शव फेला परेको नारायणखोलाका वडाध्यक्ष सुवाईसिंह ब्लोनले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल पत्थरकोटस्थित छेडा गाउँबाट झण्डै १२ किलोमिटर उत्तरतर्फ पर्ने वडाध्यक्ष ब्लोनले बताए ।