अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सर्लाहीमा विविध कार्यक्रम

6
बरहथवामा आयोजित सिमान्तकृत समुदायका महिलाहरुको अधिकारबारे अभिमुखिकरण कार्यक्रमका सहभागि । (तस्बिर : उज्यालो अभियान)

बरहथवा – अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सर्लाहीको विभिन्न स्थानमा सोमबार विविध खाले कार्यक्रमहरु भएका छन् ।
अखिल नेपाल महिला संघ सर्लाहीको आयोजनामा बरहथवामा सिमान्तकृत महिलाहरुको कानुनी अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बरहथवा नगरपालिका स्थित विश्व शान्ति हलमा आयोजित कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना कटुवालको अध्यक्षता तथा अधिवक्ता पार्वती राउतको प्रमुख आतिथ्यता रहेको थियो । संघकी जिल्ला सचिव पार्वती विश्वकर्माको संचालन रहेको कार्यक्रमका अनेमसंघ केन्द्रिय सदस्य एवं हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, महिला नेतृहरु तारा सुबेदी, संचिता घिमिरे, अधिबक्ता महेश बराल, रमेश न्यौपाने, प्रहरी उपरिक्षक उद्यवराज भाट, पार्वती रोक्का, अनेमसंघ जिल्ला सदस्य कृष्ण पौडेल लगायत अतिथि रहेका थिए ।

बरहथवा नगरपालिका भित्रका दलित तथा सिमान्तकृत महिलाहरुको सहभागिता रहेको कार्यक्रममा अधिवक्ताहरुले नेपालको संविधान र कानुनहरुमा ब्यवस्था भएको दलित अधिकार, महिला अधिकार, घरेलु हिंसा, वाल विवाह बहु विवाह लगाएतका विषयमा अभिमुखिकरण गराएका थिए ।

दिवसका अवसरमा सदरमुकाम मलंगवा, लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, बरहथवा, कौडेना लगायतका स्थानमा पालिका स्वयम, विभिन्न सामाजिक तथा गैर–सरकारी संस्था लगायतको आयोजना तथा सहकार्यमा ¥याली, अन्तक्र्रिया, सम्मान लगायतका कार्यक्रम भएको बताईएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार सर्लाहीभर विभिन्न कार्यक्रमहरु गरिएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने मूल नारा सहित सर्लाहीमा पनि १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।

जिल्लाको उत्तर–पूर्वी चुरेभेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा महिला संजालको आयोजनामा अघिल्ला वर्षहरुमा झैँ र्यालीसहित सम्मान कार्यक्रम आयोजना गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । नियमित विद्यालय आउने नेपाल राष्ट्रिय जनता मावि बद्रीपुर घारी र जनता प्रावि नयाँटोलका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालयमा नियमित हाँजिर भएर पढाउने कालिन्जोरको ६ वटा विद्यालयका ९ जना शिक्षकलाई दोसल्ला, स्वास्थ्य चौकीमा आएर नियमित ४ पटक स्वास्थ्य जाँच गर्ने २४ जना गर्भवती, बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी र छोरी मात्रै रहेका दुई जना आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको महिला सन्जाल कालिन्जोरकी सचिव बिन्दा लुंगेलीले जानकारी दिईन् । संजालकी अध्यक्ष राममाया विकको अध्यक्षता तथा वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

त्यसैगरी ईश्वरपुर नगरपालिकामा पनि दिवसकै अवसरमा आईतबार अन्तक्र्रिया कार्यक्रमसँगै अटो लगायत सबारी साधन चलाउने महिला चालक, घर निर्माणको काम गर्ने र स्वास्थ्य क्षेत्रमा क्रियाशील महिलाहरुलाई सम्मान गरिएको छ । उपमेयर एकावती देवी चौधरीको अध्यक्षता तथा मेयर मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नारायण माविका प्रअ फणिराज बराल, बयलवासका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङ, ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसे लगायतले मन्तव्य राखे ।

त्यस्तै, ईश्वरपुरमा नै वडा नं. ८ स्थित आर्दश निमावी रामपुरमा नेपाल महिला संघ सर्लाहीले अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा अन्तक्र्रिया कार्यक्रम गरेर दिवस मनाएको छ । पम्फा लामाले सञ्चालन गरेको कार्यक्रममा कल्पना पाख्रिन, सुधा चालिसे, रमा भट्टराई, लक्ष्मी बाँनिया लगायतले मन्तव्य राखेका थिए ।

यता, मेची महाकाली बुहारी संयुक्त आवाज नामक संस्थाले सोमबार बिहान लालबन्दी नगरपालिका–१ नवलपुरमा प्रदेश सभा सदस्य रमा काफ्लेको प्रमुख आतिथ्यतामा सरसफाई गरेको थियो । लालबन्दीमा पनि महिला ससक्तीकरण संस्थाकी अध्यक्ष उत्पला ढुंगेलको अध्यक्षतामा सोही संस्था र नयाँ गोेरेटो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा अन्तक्र्रिया गरेर दिवस मनाईएको संस्थाकी सचिव करुणा आचार्यले जानकारी दिईन् ।