मलंगवामा भोलीदेखि क्रिकेट प्रतियोगिता, बिजेताले १ लाख पाउने

मलंगवा – ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सर्लाही सदरमुकाम मलंगवामा भोली (मंगलवार) देखि खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

मलंगवा नगरपालिका–१०, स्थित तीनबिघे मैदानमा खेल आयोजना गरिएको हो । प्रतियोगितामा १६ वटा टिमले सहभागिताका लागि नाम दर्ता गरेका आयोजक समितिका अध्यक्ष रामकेवल रायले जानकारी दिए ।

रायका अनुसार, प्रतियोगिताको उद्घाटनको अवसरमा भोली योङस्टार मलंगवा र गम्हरीया क्रिकेट टिमबीच खेल हुँदैछ । १५ दिनसम्म चल्ने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश : एक लाख र ५० हजार नगदसहित कप, मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट ब्याट्स म्यान, बलर, विकेट किपर र फिल्डरलाई चाँदीको मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।